भक्तपुर, १२ साउन । नेकपा माओवादी ‘विप्लव’ समूहको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले आज सानोठिमीस्थित शिक्षा विभाग र उच्च माध्यमिक शिक्षा परिषद्मा तालाबन्दी गरेको छ ।
विगतका सहमतिहरु कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेर अखिल क्रान्तिकारीले विभागका महानिर्देशक डिल्ली रिमाल र परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेको हो । बिहान ९ः३० बजे अखिल क्रान्तिकारीका केही कार्यकर्ताले तालाबन्दी गरेर प्रेस विज्ञप्ति टाँसेका थिए ।
तालाबन्दीपछि विभागका महानिर्देशक रिमालले शिक्षा मन्त्रालयमा केहीदिनअघि भएको वार्तामा भएकै सहमतिका आधारमा काम अगाडि बढाइसकिएको भए पनि आज तालाबन्दी गरिएको गुनासो गर्नुभयो ।
वार्तामा भएकै कुरालाई कार्यान्वयन गर्न जिल्ला जिल्लामा प्राविधिक टोलीसमेत बनाएर काम सुरु गरिसकेको र एक महिनाभित्र प्रतिवेदन बुझाउन सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइसकिएको बताउनुभयो ।
परिषद्का उपाध्यक्ष शर्माले वार्तामा बोलाउँदा नआउने तर पछि दुईतीनजना आएर तालाबन्दी गरेर विज्ञप्ति टाँस्ने अराजक प्रवृत्ति भएको बताउनुभयो । उहाँले तत्कालै सरकारसँग कुरा गरेर यसबारे निर्णय लिने जानकारी दिँदै तालाबन्दीलाई निरन्तरता दिन नहुने बताउनुभयो ।
अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले निजी विद्यालयमा गरिएको शुल्क वृद्धि फिर्तासम्बन्धी सहमतिको कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी तालाबन्दी गरिएको बताउनुभयो । रासस















प्रतिक्रिया