काठमाडौं, १२ साउन । पाँच सय रुपैयाँको विवादमा एक युवकले आफ्नै सहकर्मीको हत्या गरेका छन् । म्हैपीस्थित सागर अटो वर्कसपका कर्मचारी उमेशविक्रम विष्टले सँगै काम गर्ने अशोक खड्काको हत्या गरेका हुन् ।
कारमा ‘गियर ओयल’ हालेको पाँच सय रुपैयाँ आफूलाई नदिएको विवादमा गलले घाँटीमा रोपेर ३१ असारमा विष्टले खड्काको हत्या गरेका हुन् ।
घटनाको १० दिनपछि विष्ट सतुंगलबाट पक्राउ परेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सतंगुलको मकालु वर्कसपबाट उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
आफू मदिरामा मात्तिएको र त्यही वेला विवाद भएपछि हत्या गरेको विष्टले स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्ट र खड्का दुवैजनाले वर्कसपमै बसेर मदिरा पिएका थिए ।
घटना भएको दिन खड्काले वर्कसपमा मर्मतका लागि ल्याइएको पिकान्टो कारमा गियर ओयल हालेका थिए ।
त्यसबापत साहुबाट खड्काले मात्र पैसा पाएका थिए । सो पैसा आफूलाई नदिएको भन्दै विष्टले झगडा सुरु गरेका थिए ।
विवादको क्रममा दुईजनाबीच हात हालाहाल भएको र विष्टले खड्कालाई फलामको गलले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार खड्काले छलेपछि गलले लागेर कारको सिसा फुटेको थियो ।
कुटाइबाट बच्न खड्का गाडीभित्र छिरेका थिए । विष्टले गाडीको ढोका खोलेर गलले घाँटीमा रोपेका थिए ।
त्यसवेलासम्म खड्का अचेत भइसकेका थिए ।















प्रतिक्रिया