काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका जानुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको उक्त भ्रमण तय गरी स्वास्थ्य उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षणका लागि यही असार ५ गते अमेरिकामा चिकित्सकको समय निर्धारण भइसकेकाले त्यस अगावै उहाँ प्रस्थान गर्नुहुनेछ ।
त्यसैगरी, बैठकले पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) नेत्री सहाना प्रधानको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा कुलचन्द्र वाग्ले र गोरखापत्र संस्थानको अध्यक्षमा रमेश तूफानलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले प्रधानमन्त्री कोइरालाको प्रशासनिक सल्लाहकारमा बाबुराम आचार्य, हेटाँैडा सिमेन्ट उद्योग लिमिटेड सञ्चालक समितिको अध्यक्षमा श्रीधरकुमार पोखरेल, उदयपुर सिमेन्ट कारखाना सञ्चालक समितिको अध्यक्षमा विमल कार्की, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको अध्यक्षमा दयालबहादुर शाहीलाई र घरेलु तथा साना उद्योग विकास समिति सञ्चालक समितिको अध्यक्षमा जगन्नाथ नेपाललाई दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिका सदस्य अशोकनाथ उप्रेतीको कार्यकाल समाप्त भएको मितिले अर्को दुई वर्ष म्याद थप्ने निर्णय गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूमा लामा टेन्डी शेर्पा, सुरेन्द्र हमाल र शकुन्तला नगरकोटीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता डा रिजालले जानकारी दिनुभयो ।
सरकारले राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रणिता उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले बुढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि सउदी विकास कोषबाट प्राप्त हुने दुई अर्ब ८२ करोड सहायतासम्बन्धी सम्झौताको काम अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले सौर्य ऊर्जा प्रवद्र्धन आयोजनाका लागि जर्मन विकास बैंकले प्रदान गर्ने ७३ करोडको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।














प्रतिक्रिया