काठमाडौं १० साउन । एमाओवादी मुख्यालय पेरिसडाँडामा नेताहरू भेला हुँदै थिए । विस्तारै एक–एक गरी नेताहरू झुल्किन थाले । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ देखिए ।
वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई पर्खिरहेका अन्य नेताले उनको अनुहार देख्न पाएनन् । अध्यक्ष पुष्पकमल दाहाल भने कार्यक्रममा समयमै आइपुगेको समाचार सौर्य दैनिकले छापेको छ ।
सन्दर्भ थियो, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति कार्यक्रम । सोही कार्यक्रममा देखियो प्रचण्डको आक्रोश र व्यंग्य पनि । उनले आन्तरिक विवाद चर्किरहेको बेला शनिबार कडा अभिव्यक्ति दिए ।
पार्टीभित्रका कतिपय मानिस आफू राम्रो देखिन आफ्नो सत्तोश्राप गरेर हिँड्ने गरेको उनले बताए । उनले भने, ‘यतिबेला प्रचण्डलाई गाली गरेपछि सबैभन्दा फोहोरी मानिस पनि दूधले नुहाएको जस्तो हुन्छ ।’ अलिक मलिन्द्र भावका देखिएका प्रचण्डले धेरै कुरा गर्ने जोश पनि देखाएका थिए ।
उनले भने, ‘म रूपान्तरित भएर अघि बढ्न तयार छु तर रूपान्तरणका कुरा गर्नेहरू यसमा तयार छन् रु’ पार्टी विभाजनपछि अन्य माओवादी नेता एक ठाउँमा नहुँदा अर्को समस्या आइलागेको महसुस गरेका प्रचण्डले थपे, ‘पार्टीका नेताहरूले एक ठाउँमा हुँदा पार्टी छुट्टाउने र छुट्टिएपछि गुटको कुरा भएको छ । पार्टीलाई राम्रो बनाउन के के गर्नुपर्छ म त्यो सबै गरेर अघि बढ्न तयार छु तर, सबैले म म भनेर अघि बढ्नुपर्छ ।’
प्रचण्डले विचार, कार्यदिशा सबै एक रहेको भन्दै सबै एकै ठाउँमा उभिएर अघि बढ्दा राम्रो हुने समेत जनाए । विचार र कार्यदिशामा केही फरक नभएको उल्लेख गरेका उनले गुट भेलातर्फ संकेत गर्दै भने, ‘तर, एकान्तमा, एक्लै भेट्दा केके भन्छौँ रु सायद हामी अर्कै भनिरहेका छौँ ।’
त्यसअघि बोलेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रूपान्तरणको कुरा गर्ने तर, आफूले सिन्को नभाच्ने प्रवृत्ति एमाओवादीमा देखिएको बताएका थिए । ‘आफू नसच्चिने तर, अरू रूपान्तरित हुनुपर्छ भनिरहने हो भने पार्टी सकिनेछ,’ उनले प्रचण्डले बोल्नुपूर्व भनेका थिए ।















प्रतिक्रिया