काठमाडौं, १० साउन । एक साताअघि सशस्त्र प्रहरी बलको प्रहरी शब्द हटाउन सुझाव दिएको नेपाल प्रहरीले राष्ट्रिय अनुसन्धान विभागको नाम पनि परिवर्तन गर्न सुझाएको छ ।
प्रहरी मुख्यालयले विभागलाई राष्ट्रिय गुप्तचर विभाग राख्न सुझाव दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
नयाँ संविधानमा कस्तो प्रहरी संरचना हुने भन्ने विषयमा नेपाल प्रहरीले राजनीतिक व्यक्तिहरूलाई भेटेर सुझाव दिइरहेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित प्रहरी अतिरिक्त महानिरीक्षकहरूले शनिबार एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेका थिए ।
नेपाल प्रहरीले कामको प्रकृति मिल्दाजुल्दा नाम राख्दा संगठनबीचको कामकारबाहीमा असर पर्ने भन्दै नाम परिवर्तन गर्न सुझाव दिएको हो ।
मुख्यालयले प्रस्तावित संविधानको धारामा गुप्तचर संगठनलाई अनुसन्धानका अन्य संगठन लेखिएको भन्दै असहमति जनाएको हो । ‘प्रहरी संगठनभित्रै अनुसन्धान गर्ने विभिन्न ब्युरो छन्’, केन्द्रीय प्रहरी प्रवक्ता नायब महानिरीक्षक कलमसिंह बमले भने, गुप्तचरलाई पनि अनुसन्धान गर्ने निकाय भनिँदा दुविधा उत्पन्न हुन सक्छ ।’
यस्तै संविधानका विभिन्न धारामा सुरक्षा निकायबीच असमझदारी र भूमिका दोहोरिने किसिमका वाक्य भएको भन्दै त्यसमा समेत सुधार खोजेको छ ।
मस्यौदाको धारा २६३ / १० र ३ मा अनुसन्धानका संगठन उल्लेख गरिएको छ ।
यस्ता शब्दावलीले अपराध रोक्ने, अपराधी पत्ता लगाउने र अनुसन्धान गर्ने मौलिककार्य जिम्मेवारी भएको नेपाल प्रहरीको कार्यक्षेत्रमा द्विविधा उत्पन्न हुने सुझावमा उल्लेख छ ।
शनिबार ओली निवासमा पुगेका प्रहरी अधिकारीहरूले प्रान्तीय प्रहरीलाई केन्द्रीय प्रहरीसँग जोडेर मात्र संविधानमा राखिदिन अनुरोध गरेका थिए ।
बिहान ९ बजे समय लिएर गएका उनीहरूलाई अध्यक्ष ओलीले अर्को बैठकमा जानुपर्ने भन्दै पुनः आइतबार बिहानको समय दिएका छन् ।
प्रहरीले बाँकी राजनीतिक दलका नेतालाई समेत भेटेर सुझाव दिने भएको छ । ‘प्रमुख राजनीतिक दलका नेतालाई भेटेर सुझाव दिनेछौं’, एक वरिष्ठ प्रहरी अधिकारीले भने ।















प्रतिक्रिया