३० आश्विन २०८३, शुक्रबार

दक्षिण कोरियाले दियो ८० करोड, परियोजनामा पाँच सय जनालाई रोजगारीको अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flag-Pins-Nepal-South-Koreaकाठमाडौँ, ८ साउन । दक्षिण कोरियाले दिगो कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गरी ग्रामीण भेगका बासिन्दाको आय बढाउने समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न करिब रु ८० करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

नवलपरासी जिल्लामा कार्यान्वयन गरिने उक्त परियोजनाअन्तर्गत जिल्लाका कुडिया, भुजाहवा, सनाही, तम्सरिया, गुठिपरासनी गाविस र सुनवल नगरपालिकामा कार्यक्रम सञ्चालन हुनेछन् । परियोजना स्थानीय विकास मन्त्रालय र कोरियाली सहयोग नियोग (कोइका)ले कार्यान्वयन गर्नेछन् ।

अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमा आज अर्थमन्त्रालयमा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि कोरियाका राजदूत चो योङ जिनले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा राजदूत चोले भूकम्पपछिको पुनःनिर्माणमा कोरियाली सहायताको प्रतिबद्धता दोहो¥याउँदै दिगो कृषि विकास र आयआर्जनका कार्यक्रम कार्यान्वयन गर्न निरन्तर सहयोग गर्ने बताउनुभयो ।

नेपालको आर्थिक उन्नयनको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको विकासलाई कोरियाले महत्व दिएको बताउँदै उहाँले सामाजिक एवम् आर्थिक चुनौती सामना गर्न पनि कृषि उद्यम फलदायी देखिएको उल्लेख गर्नुभयो ।

सचिव शर्माले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको आर्थिक सामाजिक समृद्धिका लागि प्राप्त कोरियाली सहयोगप्रति आभार व्यक्त गर्नुभयो । दक्षिण कोरियाको सहयोगमा सञ्चालन हुन लागेको ग्रामीण विकास परियोजना अन्तर्गत पाँच सय जनालाई रोजगारी दिइने छ । रासस