दैलेख, ८ साउन । दुल्लु नगरपालिका– २ का बमबहादुर रावतले द्वन्द्वकाल धेरै युद्ध सक्रियताका साथ लडे । युद्धमा आफ्नो कुशल बलिदानी पनि दिए तर, बलिदानीकै क्रममा १३ वर्षदेखि शरीरभित्र रहेको छर्रा निकाल्न भने उनले सकेका छैनन् ।
द्वन्द्वकै नाममा टाठाबाठाले दोहोरो राहत लिइरहेका बेला उनले एक सुको पनि राहत पाएका छैनन् । उतिबेला देशमा ठूलो परिवर्तन ल्याउन उत्साहपूर्वक लडेको युद्धमै घाइते हुँदासमेत न त पार्टीले हे¥यो न त सरकारले नै । निराश हुँदै रावतले भने – “उपचार त के ! सरकारले दिने राहतसमेत छुट्टाइयो ।”
उनी २०५९ भदौ २३ गते अर्घाखाँचीको भिडन्तमा गोली लागि घाइते भएका हुन् । छर्रा शरीरमै रहँदा फेरि बर्दिया र बाँकेको कुशुममा समेत भिडन्तमा परे । त्यतिबेला पनि खुट्टामा गोली लाग्यो । अहिले पनि त्यतिबेलाका छर्रा शरीरभित्रै रहेको उनले बताए । तेह्र वर्षदेखि शरीरभित्र रहेको छर्रा देखाउँदै अहिले पनि उपचार र राहत नपाएकामा आफू दुःखी भएको रावतले बताए ।
तत्कालीन माओवादीका सेक्सन कमान्डर रहेका रावतलाई कतैबाट पनि सहयोग नभएपछि दैलेख सदरमुकाममा घुम्ती भाडामा लिएर तरकारी पसल गरेर बसेका छन् । बर्दिया गणेशपुरको भिडन्तपछि अशक्त भएर घर फर्किएका उनले भने – “घर फर्किएदेखि न त सरकारले हे¥यो न पार्टीले हे¥यो । म बेसाहरा जस्तै भएँ । मुलुकमा शान्ति प्रक्रिया सुरु भयो । सबैले राहतलगायत उपचार पाए तर, मैले अहिलेसम्म उपचार र राहतको नाममा केही पाएको छैन ।”
रावतका एक छोरा, एक छोरी र एक श्रीमती तरकारी पसलको आम्दानीमै निर्भर रहेका छन् । घुम्ती भाडा, कोठा भाडा, दैनिकी खर्च र केटाकेटी पढाइ खर्च पु¥याउन हम्मेहम्मे परेको उनले बताए । तरकारी बेचेर दैनिकी खर्च जुट्न सकेको उनी बताउँछन् । उनले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु ५० हजार ऋण लिएर तरकारी पसल चलाएका हुन् । राहतका लागि दुई पटकसम्म स्थानीय शान्ति समितिमा निवेदनसहित उपचारका लागि फारम बुझाएको भए पनि पार्टीकै मान्छेले असहयोग गरेका कारण कुनै सहयोग पाउन नसको उनले बताए ।
विसं २०६९ मा अन्तिम पटक जिल्ला प्रशासन कार्यालयले सहयोग गरेपछि स्थानीय शान्ति समितिले फाइल काठमाडौँसम्म पु¥याएको खबर पाएको र आफू त्यसकै जवाफ पर्खेर बसेको उनले सुनाए । रासस
















प्रतिक्रिया