४ कार्तिक २०८३, बुधबार

नेपालमा महिलाले पुरुषमाथि यसरी गर्दैछन् बलात्कार र कुटपिट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapनवलपरासी, ७ साउन । नेपाली समाजमा हिंसा भन्नेबित्तिकै महिलामाथि हुने घटनालाई बुझिने गरिन्छ । घरेलु हिंसासम्बन्धी उजुरीमा पुरुषले महिलामाथि गरेको विभेद, कुटपिट र यातना दिएको पाइन्छ । महिलामाथि महिलाले गरेका भेदभाव, कुटपिट र यातना दिएका घटना पनि हाम्रो समाजमा धेरै छन् ।

नवलपरासीमा भने केही समययता अनौठो तथ्य बाहिर आउन थालेको छ । यहाँ पुरुषमाथि भएका हिंसा र यातनाका घटना सार्वजनिक हुन थालेका हुन् ।

महिलाबाट पीडित पुरुषहले घटना सार्वजनिक नगरे पनि उनीहरु न्याय खोज्दै सरकारी कार्यालय र संघ संस्थाहरुमा धाउन थालेका छन् । सकारी निकाय र संघ संस्थामा न्यायका लागि पुग्ने पुरुषहरुले पत्नीले खान लाउन नदिने, काममा जोताउनेदेखि घर निकाला गरेका सम्म छन् ।

पुरुषमाथि हिंसाका घटना बढेपछि जिल्ला अदालतमा पनि त्यस्ता मुद्दा बढेका छन् । अदालतका विगतका तथ्यांकलाई तुलना गर्दा अहिले सम्बन्ध बिच्छेद गर्न मुद्दा दिने पुरुषको संख्या पनि बढेको श्रेस्तेदार कृष्णप्रसाद नेपालले बताए ।

महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत उर्वरा लुइँटेलले पछिल्लो समय पुरुष हिंसाका घटना बढेको बताइन् ।

‘टेलिफोन गरेरै आफुहरु पत्नीबाट कुटिनु परेकोले न्याय पाउन भन्दै गुनासो गर्ने गरेका छन्’, उनले भनिन्, ‘मेरा उजुरी सुनिदिनुपर्‍यो, मलाई न्याय दिनुपर्यो भन्दै पुरुषले गुनासो गरिरहेका छन ।’

लुइँटेलले पछिल्लो पटक तिलपुर गाविसका एक पुरुषले टेलिफोनमा गरेको गुनासोलाई उद्दृत गर्दै भनिन्, ‘पत्नीबाट मैले दिनहुँ कुटाइ खानु परेको छ’, ‘पत्नीविरुद्ध मेरो मेरो उजुरी सुनिदिनुपर्‍यो, मलाई न्याय दिलाउनु पर्‍यो ।’

ती पुरुषले पत्नीबाट पटक पटक कुटाइ खानुपरेपछि गाउँमा बस्नै लाजमर्दो भएको बताएको उनले सुनाइन् ।

‘घरको आर्थिक अवस्था कम्जोर भएकाले विदेश पठाएकी पत्नीको धन कमाएपछि स्वभावै बदलियो’, अर्का पुरुषले पनि टेलिफोन गरे पत्नीबाट आफू गुनासोलाई प्रमुख महिला विकास अधिकृत लुइँटेलले उधृत गर्दै भनिन्, ‘विदेशबाट आएपछि उनले नजिक पर्नै चाहिनन् । विनाकारण झगडा गरेर छोराछोरीसहित माइत बसेकी छन् । मानसिक यातना दिँदै सम्बन्ध विच्छेद गर्न दबाब दिइरहेकी छन् ।’

अधिकृत लुइँटेले फोनबाट गुनासो गर्ने महिलापीडित पुरुषहरु दैनिकजसो सम्पर्कमा आउने गरेको बताइन् । ‘कति पुरुष त रुँदै कार्यालयमा आउँछन्’, उनले भनिन्, ‘सम्झाई बुझाई पठाए पनि फेरि कुटपिट र हिंसाका घटना दोहोरिने गरेका छन् ।’

हिंसामा परेका पुरुषहरुको गुनासो केलाउँदा वैदेशिक रोजगारीमा गएका पत्नीहरुले दिएका यातना बढी छन् । त्यस्तै माइतबाट दाइजो बढी ल्याएका र कमाई बढी भएका महिलाका पति धेरै पीडित भएको देखिएको छ ।

हिंसा पीडितका लागि महिला तथा बालबालिका कार्यालयले सदरमुकामसहित विभिन्न गाउँमा सेवा केन्द्र खोलेको छ । सेवा केन्द्र महिला पुरुष दुवैका लागि हो तर अधिंकाशले उक्त केन्द्र महिलाका लागि मात्र हो भन्ने बुझेका छन् ।

सेवा केन्द्रमा उजुरी आएपछि दम्पतिलाई झिकाएर सम्झाउने गरिएको छ । ‘महिलाले पुरुषलाई यातना दिने गरेका घटना धेरै आउँथे’, सेवा केन्द्रकी प्रमुख निशा चौधरी भन्छिन्, ‘अहिले उल्टै पत्नीले हिंसा गरेको भन्दै पतिहरु उजुरी लिएर आउने गरेका छन् ।’

केही पुरुषहरु ५ देखि १० वर्षसम्म लगातार पत्नीको हिंसा सहेर बसेको घटना पनि बाहिर आएका छन् । असहैय भएपछिमात्र पुरुषहरु हिंसामा परेको भन्दै टेलिफोनमार्फत् खुल्ने गरेका छन् । केही त लिखित उजुरी दिन आउने गरेका छन् ।

यातना दिँदा पनि सहेका पतिले नछाडेपछि उल्टै महिलाले आफू हिंसामा परेको उजुरी दिने गरेका छन् । ‘उजुरी परेपछि दुवै पक्षलाई बोलाउँदा पुरुषको अवस्था दयनीय देखेपछि टिठ नै लागेर आउँछ’, चौधरीले विभिन्न घटना  सुनाउँदै भनिन् ।

रमपुरवा गाविसका रामकिशोर चौधरी (नाम परिवर्तन) पनि लामो समयदेखि हिंसा सहन बाध्य छन् । ज्याला मजदुरीले जीविकोपार्जन गर्दै आएका चौधरी पत्नीको व्यवहारले आजित छन् । जथाभावी हिँड्ने  खाना नदिएपछि उनले त्यसो नगर्न आग्रह गर्दा उल्टै कुटपिट सहन परेको सेवा केन्द्रमा बताएका छन् ।

त्यो घटनामा उल्टै उनीविरुद्ध पत्नीले महिला तथा बालबालिका सेवा केन्द्रमा घरेलु हिंसाको उजुरी हालिन् । सेवा केन्द्रले घटना केलाउँदा पति नै हिंसामा परेको पत्ता लागेको सेवा केन्द्रकी प्रमुख निशा चौधरीको भनाइ छ ।

आफै हिंसा गरेर हिंसामा परेको भन्दै उजुरी गर्ने गरेकाले घटना मिलाउन समस्या हुने गरेका अनुभव उनीसँग थुप्रै छन् । ‘मौखिक उजुरी धेरै आउँछन’्, चौधरीले भनिन्, ‘लिखित उजुरी दिने गरेका छैनन् ।’

पत्नीपीडित पुरुषहरु हिंसा असह्य भएपछि क्रमश खुल्न थालेका छन् । ‘पुरुषप्रधान देशमा सामाजिक इज्जत र प्रतिष्ठाले पनि पीडित पुरुषहरु खुलेर आउन सकेका छैनन्’, अधिवक्ता सरस्वती शर्मा भन्छिन्, ‘पुरुष पनि पीडित हुने गरेकाले हिंसाका उजुरी बढिरहेका छन् ।’

पछिल्लो पटक पुरुषहरु पनि पीडित हुनाले अदालतमा घरेलु हिंसाका उजुरी बढ्दै गएकोे नेपाल बार एसोशियसनका पूर्वअध्यक्ष बाबुराम खड्काको बुझाइ छ । ‘पुरुषमाथि हिंसा बढ्दै गएका छन्’, उनले भने, ‘त्यसैले अदालतमा अंश र सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।