काठमाडौं, १ भदौ । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२/८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर क्राइम नियन्त्रणमा पहिलो बर्ष काम भएपनि परिणाम आउन समयलाग्ने बताएका हुन् ।
‘लागूऔषध, सडक दुर्घटना, साइबर क्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला ।’ उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।’
त्यसैगरी पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको भन्दै चालु आर्थिक बर्षभित्र पुर्ननिर्माण सक्ने गरी कामगर्न निर्देशन समेत दिए । उनले गत आर्थिक बर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे । ‘अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस ।’ गृहमन्त्री लेखकले भने,‘सिमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।’ कार्य सम्पादन सामूहिक काम भएको बताउँदै उनले जस÷अपजस सामूहिक रुपले लिनुपर्नेमा जोड दिए ।
त्यसैगरी मन्त्रालयको नेतृत्वमा आउदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्वन्धी विधयेक अघि बढाएको बताउँदै प्रतिनिधी सभामा केही जटिलताका कारण रोकिएको बताए । ‘पाइप लाइनमा रहेका कानून् विधयेक यो महिनाभित्र प्रतिनिधि सभामा दर्ता गर्ने गरी काम अगाडि बढाउनुस् ।
‘उनले भने ‘मन्त्रालयको नीतिगत र कानूनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोही अनुसार काम अघि बढेको छ ।’








प्रतिक्रिया