– सुदीप अधिकारी
बर्दिया, ५ साउन । संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिन विहान ११ बजेदेखि नै अधिकाशं जनता सुझाव संकलन स्थल जिल्ला विकासको प्रगणमा भेला भएका थिए ।
संविधानको मस्यौदामा आफना राय सुझाव दिन आएका जनतामा आक्रोश नै बढी देखिन्थ्यो । सुझाव दिन आएका मध्येबाट स्थानिय लीलावती थारु माइक्रोफोन समात्दै एक्कासी जंगीदै भनिन्, ‘सभासद् ज्यू सुझाव त पछि दिउँला । पहिले भन्नुस हाम्रो सुझाव संविधान सभासम्म पुग्छ कि पुग्दैन । कतै रद्धिको टोकरीमा फालिने हो की ?’ उनको यो भनाई सकिन नपाउँदै सर्मथनमा तालीको गडगडाहट् आयो । मञ्चमा भएका सभासद्ले टाउको हल्लाएर निर्धक्क सुझाव राख्न संकेत गरे ।
उनले आक्रोशसँगै सुझाव राख्दै भनिन्, नयाँ संविधानमा प्रदेशको उत्तर दक्षिण होइन हिमाल, पहाड र तराईलाई जोडने गरी कायम हुन पर्छ । यदि त्यसो भएन भने यो संविधानको विपक्षमा हुनेछ, उनले थपिन्् ।
सुझाव राख्न भेला भएका अधिकाशंमा सुझावसँगै असन्तुष्टि र आक्रोश देखिन्थ्यो । सुझाव राख्नका लागि सहभागीलाई दुइ मिनेट मात्र दिइएको थियो । सहभागीले यो समयावधीमा राख्नु पर्ने सुझाव पुरा नहुँने भन्दै सझाव संकलान टोलीले झारा टार्ने काम मात्र गरेका भन्दै आक्रोश व्यक्त गरेका थिए । प्रदेशको सिमाङ्कन र नामाकरण संविधान जारी हुन पूर्व टुंगो लगाउनु पर्ने स्थानिय चेतराज बजगाईले सुझाव दिए ।
यसैगरी नेपालमा बहुसंख्यक जनताले हिन्दु धर्म मान्ने भएकाले अब बन्ने संविधानमा धर्म निरेपेक्षता हटाई नेपाललाई हिन्दु राज्य बनाइनु पर्ने यहाँका जनताको सुझाव छ । हिन्दु राज्य कायम हुन पर्ने माग राख्दै जिल्लाबासीले र्यालीसमेत निकालेका थिए । र्याली सहित सभास्थल प्रवेश गर्न खोजेको टालीलाई प्रहरी हस्तक्षेप गर्दा मुलगेटमा केहीबेर तनाव भएको थियो ।
अब बन्ने संविधानमा यहाँका महिलाले पुुरुषसरह महिलालाई समान अधिकार दिइनु पर्ने माग गरेका छन् । हरेक क्षेत्रमा महिलाको पचास प्रतिशत सहभागिता सुनिश्चित गरिनु पर्ने महिलाहरुको सुझाव छ । नयाँ संविधानमा एकल महिलालाई आरक्षणको पनि व्यवस्था गरिनु पर्ने महिलाहरुको माग छ ।
सुझाव संकलन भइरहको स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ताले सुझाव संकलन कार्यक्रम बहिस्कार गर्दै केहीबेर नाराबाजीसमेत गरेका थिए ।
















प्रतिक्रिया