काठमाडौं, २८ जेठ– संविधानसभाको उपनिर्वाचनन जिकिदै जाँदा नेकपा एमाले काठमाडौं २ ले प्रचारप्रसारलाई तीब्रता दिएको छ ।
एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम जारी छ । उम्मेदवारसँगको भेटघाटलाई बासिन्दा उत्साहका साथ सहभागी भएका छन् ।
घरदैलो अभियानको पाँचौ दिन बुधवार एमाले उम्मेदवार श्रेष्ठले डाँछीका कार्यकर्तासँगै बाजासहित नाचगान गर्दै मतदाताहरुको घर–घरमा गएर मत माग्नुभयो । बिहानै बम्हखेल नयाँपाटीबाट शुरु भएको घरदैलो कुँइकेल टोल, डाँछीबजार, पौडेल टोल, भुतमपुर, नयाँगाउँ, सत्याटार, थली, सिंखडा गाउँ, तामाङ टोल हुँदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।
घरदैलोका क्रममा ठाउँठाउँमा कोणसभा समेत गरिएको थियो । बम्हखेल र डाँछीबजारको कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले यो क्षेत्रबाट इतिहासदेखि नै वामपन्थ उम्मेदवार विजयी हुँदै आएको बताउनुभयो । ‘यो ठाउँमा २०१५ सालदेखि संविधान सभासम्म अरुले जितेका छैनन ।’, उहाँले भन्नुभयो– ‘यो ठाउँमा काँग्रेसले त कहिल्यै जित्ने छैन । उसले जित्ने सपना नदेखे हुन्छ ।’
एमालेका केन्दीय सदस्य तथा उपत्यका समन्वय कमिटीका संयोजक समेत रहेका श्रेष्ठले यस क्षेत्रका बासिन्दासँग आफू पहिल्यैदेखि घनिष्ट रहेको बताउँदै भन्नुभयो– ‘म चंगा बन्न चाहन्छु, तपार्इंहरु मलाई लट्टाई बनेर मलाई नियन्त्रण गरिरहनुस् ।’ उहाँले उपनिर्वाचनमा आफूलाई भारी मतले विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।
डाँछीको घरदैलो अभियान अहिलेसम्मकै ठूलो भएको एमालेका क्षेत्रीय कमिटी अध्यक्ष सुवर्ण श्रेष्ठले जानकारी गराउनु भएको छ । ‘यतिधेरै जनसहभागिता मंसिर ४ मा पनि भएको थिएन ।’ उहाँले भन्नुभयो ।















प्रतिक्रिया