काठमाडौं, ४ साउन । टीट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा कमजोर प्रदर्शनसँगै नेपालको टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता गुमेको छ। विश्वकप छनोट यात्रा समाप्त भएसँगै नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पनि गुमाएको हो। यद्यपि नेपाल आईसीसीको मुख्य वरीयतामा भने रहिरहनेछ ।अन्नपूर्ण पोष्टले अगाडि लेखेको छ- आईसीसीले नेपाललाई सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपपछि उत्कृष्ट प्रदर्शनका आधारमा टीटे्वेन्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता नभई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाउने नेपाल र नेदरल्यान्ड्स दुई टोलीमात्र हुन्।
एकदिवसीय मान्यता पाउने कुल ६ एसोसिएट टोली सबैसँग टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पनि स्वतः हुने गर्छ। ‘आईसीसीले टीट्वेन्टी विश्वकप प्रतियोगितामा छनोट हुने टोलीलाई मात्र टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता दिने भनेकाले हाम्रो मान्यता स्वत रद्द भएको छ’, नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले भने।
आयरल्यान्ड र स्कटल्यान्डमा आयोजना भइरहेको टीट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा नेपाल समूहगत चरणबाटै बाहिरिएको छ। नेपाली टोली समूहको सातौं तथा अन्तिम स्थानमा रहेको थियो।
समूहका शीर्ष चार टोलीको विश्वकप खेल्ने सम्भावना रहने भए पनि नेपालले पहिलो चरणमा एउटा मात्र खेल जित्न सक्यो। नेपाल दुई वर्षअघि आयोजित विश्वकप छनोटमा भने तेस्रो भएको थियो। १४ टोली सहभागी जारी छनोट प्रतियोगिताबाट ६ टोली विश्वकप पुग्ने प्रावधान थियो।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक महासचिव उत्तम कर्माचार्यले नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय गुमाएको सम्बन्धमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘हामीलाई दुई वर्षका लागि टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिइएको थियो।
भर्खरै एक वर्षमात्र भएको छ। अन्य जानकारी मसँग छैन’, उनले भने । नेपालका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर विनयकुमार झा पनि नेपालको टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता गुमेको बताउँछन्।
‘हामीसँग एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता छैन। त्यसैले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता कायम रहन नेपाल विश्वकपमा छनोट हुनुपर्थ्यो’, झाले भने। एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता भने चार वर्षको हुन्छ।
आईसीसीको विशेष संरचनाबाट ६ टोलीले हरेक चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँछन्। यो स्वरूपको क्रिकेटमा अन्तर्राष्ट्रिय मान्यता पाउन विश्वकपमै छनोट हुनु आवश्यक हुन्न।
बंगलादेशमा भएको गत टीट्वेन्टी विश्वकपमा टीट्वेन्टी मान्यता नेपालसँग नभए पनि त्यहाँ खेलेका तीन खेलमा टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। त्यसपछि आईसीसीको बोर्ड बैठकले नेपाल र नेदरल्यान्ड्सलाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको थियो। त्यसयता नेपालले हङकङसँग एक खेल र नेदरल्यान्ड्ससँग तीन खेलको शृंखला खेल्यो।
जारी टीट्वेन्टी विश्वकप छनोटमा दुवै टोली टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएकाले नेपालले हङकङ, पपुआन्युगिनी र आयरल्यान्डसँग खेलेका खेलले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पायो।
नामिबियासमेत टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली भए पनि उसँगको खेल रद्द भएको थियो। नेपालले खेलेका ११ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा तीन खेलमात्र जित्न सक्यो।
नेपाली टोली आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल खेल्न अब आयरल्यान्डबाट स्कटल्यान्ड प्रस्थान गर्नेछ।















प्रतिक्रिया