
काठमाडौं, १४ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नसकिने बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) १२ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को सन्दर्भमा बुधबार काठमाडौंमा आयोजना गरिने राजनीतिक परिसंवाद कार्यक्रम बोल्दै श्रमजीवी वर्गको राजनीतिक पहुँच स्थापनाका लागि ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नमिल्ने बताएका हुन् ।
‘ट्रेड युनियन आन्दोलन राजनीतिक प्रश्नबाट अलग भयो भने श्रमजीवीको अधिकार स्थापित गर्न गाह्रो पर्दछ भन्ने बुझ्नु पर्दछ’, उनले भने । नेपालमा पर्याप्त रोजगारीको अवसर हुँदा हुँदै पनि धेरै युवाहरू विदेश गएका भन्दै उनले चिन्ता व्यक्त गरे ।
विगतको लाहुरे संस्कृतिको निरन्तरतास्वरुप आजका युवाको पनि विदेश प्रतिको आकर्षण रहेको पोखरेलको भनाइ छ । नेपालको कृषि क्षेत्र व्यावसायिक नहुँदा पनि विदेश पलायन बढेको उनले बताए । ‘पढे लेखेको युवा पुस्ता कृषि कर्मबाट अलग भयो, यसले पढे लेखेका युवामा रोजगारीको समस्या देखा पर्यो, यो समस्याले गर्दा विदेश जाने प्रवृत्ति बढेको छ’, उनले भने ।
नेपालको श्रम क्षेत्रलाई कृषि कर्मसँग जोड्न कुरा ट्रेड युनियनको मुद्दा बन्नु पर्नेमा उनले जोड दिए । कृषि क्षेत्रमा श्रम शक्तिलाई जोडने नसक्ने हो भने नेपालको ट्रेड युनियन आन्दोलनको आधार पनि कमजोर हुने पोखरेलको धारणा छ ।
नेपालको राजनीतिमा एमाले अब्बल पार्टी भएको बताउँदै उनले एमाले जनताको सबैभन्दा रोजाइको पार्टी भएको स्पष्ट पारे । एमाले जब सबै खालका प्रहार तोडेर अघि बढ्छ तब पार्टी भित्रै अनेक खालका समस्याहरू आउने गरेका उनले बताए । एमाले बलियो हुँदै गएपछि त्यसलाई कमजोर पार्न पार्टी बाहिर र भित्रका शक्तिहरू लाग्ने पोखरेलको धारणा छ ।
नेपालको राजनीति अब ध्रुवीकरणको दिशामा जानु पर्नेमा उनले जोड दिएका छन्। लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल बलियो बन्नु पर्ने र त्यसको लागि सही विचार र दृष्टिकोण आवश्यक रहेको पोखरेलले बताए । ‘नीतिका आधारमा राजनीतिको ध्रुवीकरण बन्नुपर्दछ’, उनले भने ।








प्रतिक्रिया