८ कार्तिक २०८३, आइतबार

पोहरको बाढीले छोरो लग्यो, यसपालि के लग्ने हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doda-river-kanchanpurलम्की (कैलाली), ३ साउन । ‘पोहरको बाढीले छोरो लग्यो, यसपालि के लग्ने हो ?’ नाङ्लामा चामल केलाउँदै गरेकी कैलालीको पहलमानपुर, कान्द्रा नदी किनार बस्तीकी ४५ वर्षीया हिरा थापाको अनुहारमा एकाएक पीडा झल्कियो ।
पहलमानपुरको कान्द्रा नदीको किनारमा नौ/दशवटा झुपडी छन् । त्यो सुकुम्वासी बस्ती हो । उनीहरू नदी किनाराको खाली ठाउँमा झुपडी बनाएर गुजारा चलाइरहेका छन् । हिराको १२ वर्षीय छोरो हिक्मतको गत वर्ष आएको बाढीमा ज्यान गयो ।
“असार २७ गते कान्द्रा नदीमा निकै बाढी आएको थियो, छोरो बाढी हेर्न भनेर नदीतिर गयो, फर्केर आएन,” स्मरण गर्दै उनी भन्छिन् । हिरालाई आफ्नो छोरो नदीमा बगेको आजभोलि हो झैँ लाग्छ । बाढीले उनको झोपडी र बाख्रा पनि बगायो । बाढीले उनको छोरालाई बगाएर करिब ११ किलोमिटर तल बिजुलिया गाउँनजिक पुर्‍याएको थियो ।
हिराको छजनाको परिवार छ । पाँच कट्ठा ऐलानी जग्गा छ । त्यो पनि हरेक वर्षको बाढीले वर्षेबाली बगाएर लैजान्छ । “यो ठाउँमा एक मिनेट पनि बस्न मन छैन,” हिराले भनिन् – “तर के गरुँ, अन्यत्र बसोबास गर्न न जग्गा छ, न पैसा । गत वर्षको बाढीले सो बस्तीका अरू दुईजनालाई पनि बगाएको थियो ।”
कैलालीको पहलमानपुर–२ नदी किनाराको घुम्ती भाकलमा रहेको सो बस्ती बाढीको उच्च जोखिममा रहेको छ । उसो त, पहलमानपुरका अधिकांश भाग बाढी तथा कटानको जोखिममा पर्दै आएका छन् । नौ वर्षअघि बझाङको चैनपुरबाट बसाइँ सरेर सो ठाउँमा बसोबास गरेका प्रेम थापा पनि हरेक वर्ष कान्द्रा नदीको प्रकोप सहन बाध्य छन् । उनीसहित बस्तीका मान्छे नदीमा बाढी आउन थालेपछि सुरक्षित स्थानको खोजीमा नजिकैको कान्ति राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा आश्रय लिने गरेका छन् ।
हरेक बर्खायाममा कान्द्रा नदीको कटानका कारण पहलमानपुरका थुप्रै बस्ती जोखिममा पर्ने गरेका छन् । गत वर्ष कान्द्रा नदीले धार परिवर्तन गर्दा पहलमानपुरमा पूर्व–पश्चिम राजमार्ग ठाउँठाउँमा बगाएको थियो ।
कान्द्रा नदीको कटान नियन्त्रणका लागि धेरै प्रयास भए पनि नदीले पट-पटक धार परिवर्तन गरेका कारण जोखिम बढ्दै गएको स्थानीयवासीको भनाइ छ । चुरे क्षेत्रमा भइरहेको विनाशका साथै नदी र खोलाबाट अन्धाधुन्ध बालुवा, ढुङ्गा, गिट्टी सङ्कलन गर्ने गरिएबाट हरेक वर्ष बाढीको प्रकोप बढ्दै गएको उनीहरूको बुझाइ छ । रासस