काठमाडौं, २ साउन । आइसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाएको नेपाल समुह चरणबाटै बाहिरिएको छ ।
शनिवार सम्पन्न आफ्नो छैठौं तथा अन्तिम खेलमा जर्सीसँग ७ विकेटले पराजित भएपछि नेपालको विश्वकप यात्रा टुङिगएको हो । समुह चरणको ६ खेलमा नेपालले प्रतियोगिताभरी एउटा खेल मात्रै जित्न सक्यो । एक खेलमा अंक बाँडेको नेपालले बाँकी चार खेलमा निरन्तर पराजित भएसँगै आगमी वर्ष भारतमा हुने विश्वकपको बाटो बन्द भएको हो ।
नेपाल ६ खेलमा चौथो पराजय भोगेपछि समूह ए को छैठौं स्थानमा झरेको छ । ४ अंकका साथ पाँचौं स्थानमा उलिक्लएको जर्सीको भने सम्भावना कायमै छ । डब्लिनमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १०५ रन जोडेको थियो । नेपालले दिएको १०६ रनको लक्ष्यसहित जवाफी व्याटिङ उत्रिएको जर्सीले २३ बल अगाडि नै भेट्टायो ।
नेपालका लागि पहिलो खेलमा ‘डेब्यु’ गरेका सिद्धान्त लोहनीले २७ रन बनाए । उनले १६ बलमा दुई छक्का र दुई चौका हाने । त्यस्तै ज्ञानेन्द्र मल्लले २६, शरद भेष्वाकरले १७ र कप्तान पारस खड्काले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रदिप ऐरी २, विनोद भण्डारी ३, राजेश पुलामी ४ र बसन्त रेग्मी रनमा आउट भए । सोमपाल कामी ३ र करन केसी शुन्यमा अविजित रहे । जर्सीका नाट वाट्किन्सले ४ ओभरमा २० रन दिएर नेपालका महत्वपूर्ण ३ विकेट लिए ।
१०६ रनको लक्ष्य जर्सीले १६.१ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । उसका जोन्टी जेनर र पिटर गफले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।
जेनरले २६ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए भने गफले ३२ बलमा तीन छक्कासहित २७ रन बनाए ।
र्कोनिलिस र बेन स्टिभन्सले चौथो विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्दै टीमलाई जित दिलाए । र्कोनिलिस २७ रनमा अविजित रहे भने स्टिभन्स १३ रनमा नटआउट रहे । नेपालबाट कप्तान पारस खड्का र सिद्धान्त लोहनीले एक/एक विकेट लिएका थिए ।















प्रतिक्रिया