
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरेका छन् ।
शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तथाकथित आलोचनात्मक चेत भएका भनिएकाहरुले राम्रो कुरा गर्दा पनि झोलेको आरोप लगाउने गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफू एमालेको झोले भएको र त्यसमा गर्व लागेको पनि बताए ।
“म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरुलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ ।”, अध्यक्ष ओलीले भने, “जे मा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईँहरु बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस् । सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।”
एमालेले राष्ट्रिय एकतालाई सर्वोपरी ठान्ने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने टिप्पणी गरे ।
व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने समेत अध्यक्ष ओलीले बताए । पार्टी विभाजन हुँदा पनि लोकप्रिय पार्टी बन्न सकेको बताउँदै अध्यक्ष ओलीले आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत नभएको टिप्पणी गरे । “त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ । यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ ।” अध्यक्ष ओलीले भने ।








प्रतिक्रिया