काठमाडौं, १ साउन । कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ अध्यक्ष तथा सभासद् रञ्जित कर्णमाथि विद्यार्थीले भ्रष्टाचारको आरोपैआरोप लगाएका छन् ।
नेपाल इन्जिनियरिङ कलेजका नेविसंघ आबद्ध विद्यार्थीले कालोमोसो दलेको जिम्मेवारी पनि लिएको समाचार आजको सौर्य दैनिकले छापेको छ ।
कर्णको गैरजिम्मेवारीबारे बारम्बार माउ पार्टी नेपाली कांग्रेसलाई जानकारी गराउँदा पनि नेताहरूले वास्ता नगरेपछि अकास्मात् यस्तो अवस्था आएको इन्जिनियरिङ इकाइका विद्यार्थीले स्वीकार गरेका छन् ।
उनीहरूले कर्णले नेविसंघ अध्यक्ष भएपछि गरेका भ्रष्टाचारको फेहरिस्त पनि सार्वजनिक गरेका छन् ।
कर्णले मेडिकल माफियासँग रकम लिएको, महाधिवेशन गर्न भनी उठाएको चन्दा रकम र भूकम्पपीडितलाई उठाएको राहतमा पनि भ्रष्टाचार गरेको कुरा विद्यार्थीले पत्रकार सम्मेलन गरी जनाएका छन् ।
नेपाल इन्जिनियरिङ कलेज नेविसंघ इकाइका सचिव अशेष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कर्णको कर्तुतको भण्डाफोर गरिएको छ ।
‘डा गोविन्द केसीको अनशन रोक्न मेडिकल माफियाबाट पैसा खाएर माफियालाई सहयोग भयो, विद्यार्थी आन्दोलनका नाममा पोखरा विश्वविद्यालयमा क्याम्पस सम्बन्धनसँग जोडर मोटो रकम चलखेल गरी विश्वविद्यालयको शैक्षिक कार्यतालिका नै एक वर्षभन्दा बढी पछाडि धकेल्ने काममा कर्णको हात छ’, विज्ञप्तिमा उल्लेख छ, ‘निजी शैक्षिक संस्था, स्वास्थ्य सेवा, व्यापारिक संस्थाहरूमा चिठी काटेर नै चन्दा संकलन गरी भ्रष्टाचार भएको छ ।’
कर्णले पदमा पुगेपछि मर्यादा बिर्सिएको र केही नेताहरूको पछि लागेर संगठन नै डुबाएको आरोप विद्यार्थीले लगाएका छन् ।
महाधिवेशनको मिति तोक्ने, यसैका नाममा चन्दा उठाउने, महाधिवेशन नगर्ने र उठाइएको पैसा पारदर्शी नगर्ने काम कर्णबाट भएका कारणले आक्रोशित विद्यार्थीले आवेशमा आएर कालोमोसो दलेको विज्ञप्तिमा उल्लेख छ ।
निजी शैक्षिक संस्थामा विदेशी नाम राख्न नपाइने भनेर आन्दोलन सुरु गरेको तर सञ्चालकसँग पैसा लिँदै आन्दोलन टुंगोमा पुर्याउनुको सट्टा सम्झौता गर्ने, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित अध्यक्ष बने पनि साँढे तीन वर्षसम्म अधिवेशनको सुरसार नगरी पदमा लिसो टाँसिएझैँ बस्दा नेविसंघको आन्दोलन कमजोर भएको बताइएको छ ।
कर्णमाथि रकम असुल गरेर संगठन विघटन गरी पदाधिकारी नियुक्त गरेको आरोप पनि विद्यार्थीले लगाएका छन् ।
‘महिनाअगाडि मात्र पैसा खाएर केन्द्रीय सदस्य नियुक्त गरिएको छ, देशभरि विभिन्न जिल्ला र क्याम्पसमा पैसा लिएर पुराना नेतृत्वलाई विघटन गरी नयाँ इकाइ अध्यक्ष नियुक्त गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘इकाइ अध्यक्षका लागि ५० हजार, जिल्ला अध्यक्ष बन्न एक लाख र केन्द्रीय सदस्यका निम्ति तीन लाख लिएर कर्णले भ्रष्टाचार गरिरहेका छन् ।’















प्रतिक्रिया