
काठमाडौं, ७ जेठ । दैलेखमा माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको सालिकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माल्यार्पण गरेकोप्रति नेकपा (एमाले)का सांसद सूर्य थापाले टिप्पणी गरेका छन् ।
थापाले सामाजिक सञ्जालमा डेकेन्द्रराजलाई सम्बोधन गर्दै लेखेको भावनात्मक टिप्पणीमा प्रचण्डको १९ वर्षपछिको यो श्रद्धाञ्जली कार्यलाई ‘नाटक’ भन्दै दाहालको आलोचना गरेका हुन् ।
‘प्रिय डेकेन्द्रराज थापा भाइ, भावपूर्ण श्रद्धाञ्जली । तिमी भौतिक रूपमा आज यो संसारमा जिवित छैनौँ र यो कपट दृश्य देख्न सक्दैनौँ, यदि देख्न सक्थ्यौ भने नकच्चरालाई के गर्थ्यौ ? २/४ पटक भेटेको आधारमा म अनुमानसम्म गर्न सक्छु– एउटै हातले दुबै गालामा तोरीका फूल देख्ने गरी लपेटा त लाउँथ्यौँ, लाउँथ्यौँ !’, थापाले लेखेका छन्, ‘सबैको उपचार हुन्छ, नकच्चराको केही उपचार छैन र हुँदैन । पानीको आपूर्ति रोकेका जल्लादहरूले मारिहाल्लान् भन्ने अनुमानसम्म नगरी वार्ता गरेर मिलाउन जानु नै तिम्रो जीवन संहारको कारण बनेको थियो । साथमा तिमी निर्भिक, निडर र साहसी थियौँ । त्यसैले, मारिएर पनि बाँचेका छौँ, अमर छौँ । सदा स्मरणीय रहेका छौँ ।’

सांसद थापाले प्रचण्डले कुनै पनि प्रायश्चित नगरेको र बरू हरेक विरोधीको हालत सके भने यस्तै गराइदिन्छु भन्न सालिक छेउ पुगेर नाटक श्रद्धाञ्जली गरेको उल्लेख गरे ।
‘उनलाई ७२ वर्ष लागेसँगै अबचाहिँ ‘म पनि एक दिन मर्नुपर्नेछ’ भन्ने गहिरो अनुभूति भइरहेको हुनुपर्छ र खुल्ला भएको १९ वर्षपछि बल्ल दैलेख आएर तिम्रो सालिकमा कागजको बजारिया माला लगाई दुई हात जोडेर प्रायश्चित र श्रद्धाञ्जली दिनेगरी उभिन पुग्नुपर्ने स्थितिमा देखिनुभयो । ‘आफै बोक्सी– आफै झाँक्री’ भन्ने भनाइ यस्तै अवस्थालाई भन्नको लागि बनाइएको होला । यद्यपि म बोक्सी र झाँक्रीमा विश्वास गर्दिनँ । तर उनले तिम्रो शालिक छेउमा उभिएर मैले १७ हजारको जीवनलीला हरण गर्न गल्ती गरेँ भनेको सुन्यौँ त प्रिय भाइ ? अहँ उनी त्यसो भन्न चाहन्नन् । बरू मेरा हरेक विरोधीको हालत सकेँ भने यस्तै गराइदिन्छु भन्न तिम्रो सालिक छेउ पुगेर श्रद्धाञ्जली अर्पणको यो नाटक गरेका हुन् ! खासमा यो नाटक नै हो !’ नेता थापाले भने ।
पत्रकार डेकेन्द्रराज थापाको २७ साउन २०६१ मा माओवादी कार्यकर्ताहरूले अपहरण गरी हत्या गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले हालै दैलेख भ्रमणका क्रममा डेकेन्द्रराजको सालिकमा माल्यार्पण गरेका थिए ।
सांसद थापाले ‘प्रचण्ड वाल्मीकि बन्दैनन्, उनी रत्नाकर नै थिए, छन् र बाँकी जिवनभरि रहिरहनेछन् ! अरू सबै भ्रम हो, उनले भनेको क्रान्तिजस्तै !!!’ समेत उल्लेख गरेका छन् ।
















प्रतिक्रिया