काठमाडौँ, २७ जेठ । हाउजिङको नाममा ठगी गर्ने क्रम बढेको छ । यसैक्रममा दर्जनौं व्यक्तिसँग रकम लिई भनेको समयमा फ्ल्याट उपलब्ध नगराएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उज्वल आचार्यलाई मंगलबार पक्राउ गरेको छ ।
ब्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीका अनुसार रोवियस जि स्टार विल्डर्स एण्ड डेभलपमेन्टका फ्ल्याट बिक्री गर्ने भन्दै ७६ जनासँग आठ करोड २१ लाख ४३ हजार २७० उठाई ठगी गरेको अभियोगमा काठमाडौँको बबरमहलबाट पक्राउ गरिएको हो ।
ललितपुर जिल्लाको छम्पी–५ मा १४ तलाको दुईवटा भवन निर्माण गरी ३२४ वटा फ्ल्याट बनाउने र सो फ्ल्याट बिक्री गर्ने भनी विज्ञापन गरी ठगी गरेको र बोलकबोलबमोजिम काम नगरेको देखिएकाले पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
आचार्यलाई यसअघि काठमाडौँ जिल्ला अदालतले ६ महिना कैद र रु ९७ लाख ५४ हजार ६८६ जरिवाना गर्ने आदेशसमेत गरिसकेको थियो । सोही कसुरमा ब्युरोले सोही हाउजिङका संस्थापक सुमन श्रेष्ठ र कला पौडेललाई पक्राउ गरिसकेको ब्युरोले जनाएको छ ।














प्रतिक्रिया