काठमाडौं, ३१ असार । राजधानीमा गुण्डा नाइकेहरु तितर वितर हुन थालेपछि राजधानी बाहिर आपराधिक क्रियाकलाप बढ्न थालेको छ ।
केही दिन अघि नेपालगञ्ज युवासंघका सदस्य चेतन मानन्धरको मुख्य सडकमा खुँडा प्रहार गरी हत्या भएको छ ।
हत्याका मुख्य योजनाकार रिगल ढकालले काठमाडौंमा बसेर योजना बनाएको समेत खुलेको समाचार युनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
काठमाडौं स्वयम्भू क्षेत्रमा दुई साता देखी बसेर गुण्डाका नाइके ढकालले गत सोमवार नेपालगञ्जमा चेतनको हत्या गराउन सफल भएको स्रोतको भनाई छ ।
तर तत्काल घटनास्थलबाटै हत्यारालाई प्रहरीले पक्राउ गर्दा उनीहरुले आफूहरु रिगल समूहको रहेको बयान दिएका दिए ।
प्रहरी अनुसन्धानबाट रिगलको योजनामा हत्या भएको खुलेपछि राजधानीमा रहेका रिगललाई नेपाल प्रहरीका एक भ्रष्ट डिएसपीले खासा पु-याएको हल्ला चलेको छ । रिगललाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ ।
हत्यामा संलग्न रिगल समूह र मारिएका चेतन मानन्धर दुवै नेपालगञ्जमा गुण्डागर्दीमै संलग्न रहँदै आएका थिए ।
कुनै समय मानन्धर रिगल समूहकै सदस्य थिए । विगत १५ बर्ष देखी उनीहरुको समूहले नेपालगञ्जमा गुण्डागर्दी गर्दै आएका थिए ।
उनीहरुलाई राजनीतिक दलका नेता र प्रहरीकै संरक्षण रहेको आरोप स्थानिय बासिन्दा र व्यापारीले लगाउँदै आएका छन् ।
कुनै समय रिगल समूहकै सदस्य रहेका चेतनसहित केही व्यक्ति पछिल्लो समय रिगल समूहबाट अलग भएपछि चेतनले आफ्नै समूह खडा गरेका थिए ।
यसरी नेपालगञ्जमा एउट समूह फुटेर दुई आपराधिक समूहको जन्म भएको थियो । रिगलका लागि कुनै समय मरिमेट्ने चेतनसहित, कालु, सानु, मनोज, विकेस लगायतका व्यक्तिले चेतनको हप्ता असुल्ने ठाउँमा अबरोध पु-याएर आपै असुल्न थाले ।
जुन कुरा रिगललाई पचेन र यो दौरानमा रिगलले चेतनको समूहलाई थर्काउने, तर्साउने गर्न थाले । तर संगठित भइसकेको चेतन समूह पछि हटेन । अन्ततः बजारमै फिल्मी शैलीमा चेतनको हत्या भयो ।
भारतमा टुर्स एण्ड ट्राभल्समा दर्ता भएका भारतीय बसमा नेपागञ्जदेखि नै यात्रु पठाउँदासम्म रिगल समूहले पैसा असुल्दै आएको छ ।
तर कमाईको सबै हिस्सा आफै राख्ने रिगलको व्यवहारप्रति असन्तुष्टि जनाउँदै चेतन लगायतको समूहले विद्रोह गरेको थियो ।
सम्झाउँदा र धम्क्याउँदा समेत केही नलागेपछि भर्खरै संगठित हुँदै गरेको चेतनको समूहलाई आक्रमण गरेर ठेगान लगाउने सोचमा रिगल समूह पुगेको थियो ।
जसका लागि करिब १० जना बाहिरका ‘गुण्डा’ लाई रिगल समूहले दुई साता अघि नै नेपालगञ्ज झिकाएको थियो ।
रिगलको योजनामा करिब १४ जना आक्रमणमा संलग्न भएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने ७ जना पक्राउ परेपनि रिगलसहित अन्य फरार रहेको प्रहरीले बताएको छ ।
१५ दिन अगाडि चेतनको समूहले रिगलको बस काउन्टरमा गइ तोडफोड गर्दै लुटपाटको प्रयास गरेको थियो । जसबाट आक्रोशित भएको रिगलको समूहले चेतनकै साथी मनोज विकको घरमा तोडफोड गर्दै आक्रमण गरेका थियो ।
जसको उजुरी दिन मनोजको समूह जिल्ला प्रहरी कार्यालय पुग्यो, तर प्रहरीले सार्वजनिक मुद्दा दर्ता गर्न नै मानेन ।
प्रहरीले सार्वजनिक मद्दा दर्ता गरेर रिगलको समूहलाई पक्राउ गरी कारवाही पक्रिया अगाडी बढाएको भए उक्त घटना हुँदैन थियो । प्रहरीले दुबै समूहका गुण्डालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको भए जघन्य अपराधका घटना हुने थिएन ।
बस काउन्टरमा चेतन समूहले गरेको तोडफोडको बदला लिने रिगल समूहले मिटिङ गर्ने भन्दै चेतनलाई सिद्धार्थ कटेजमा बोलाएर आक्रमण गरेको थियो ।
रिगल बाँके क्षेत्र नम्बर ३ तरुण दलका अध्यक्ष हुन् । कांग्रेसको आडमा उनले बिगत एक दशकदेखी आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
चेतन कांग्रेसको तरुण दल, राप्रपा नेपाल हुँदै पछिल्लो पटक एमालेको युवा संघमा आबद्ध थिए ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का निकट रिगललाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले समेत संरक्षण दिंदै आएको नेपालगञ्जका स्थानिय बासिन्दा बताउँछन् ।















प्रतिक्रिया