३० आश्विन २०८३, शुक्रबार

धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भएपछि स्थानीय खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fapla-cricket-maidanधनगढी, ३० असार । सरकारले मङ्गलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७२÷०७३ को बजेट नीति तथा कार्यक्रममा कैलालीको धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि प्राथमिकता दिइएपछि स्थानीय खेलप्रेमी उत्साहित भएका छन् ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले धनगढीको फाप्ला खेल मैदानलाई क्रिकेट मैदान बनाउन सरकारले बजेटमार्फत देखाएको तत्परताले खेलप्रेमी उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।

नगरपालिकाको नगरपरिषद्को बैठकले पनि धनगढीलाई क्रिकेट सहरका रुपमा विकास गर्ने निर्णय पहिले नै गरिसकेको छ ।

सुदूरपश्चिमका निर्माणाधीन केही पुराना योजनालाई बजेटले समेटेको भए पनि नयाँ अन्य कुनै योजना नपरेकोप्रति भने केहीले असन्तुष्टि व्यक्त गरेका छन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना, गेटा मेडिकल कलेज निर्माण, धनगढी विमानस्थल स्तरोन्नति, महाकाली नदीमा पुल निर्माण, कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना, पहाडी जिल्लाका केही सडक निर्माणलगायतका विषयलाई बजेटले सम्बोधन गरेको छ ।

पर्यटन व्यवसायी कृष्णबहादुर महराले बजेटमा देशको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटनको विकासका लागि नयाँ कुनै योजना नपरेको र पुरानै शैली र सोचको रहेको बताउनुभयो ।

सुदूरपश्चिम सबैभन्दा पिछडिएको क्षेत्र हो भन्ने राज्यलाई थाहा हुँदाहुँदै पनि यस क्षेत्रको समग्र विकासका लागि ल्याउनुपर्ने योजना बजेटमा केही नपारेकोप्रति महराले गुनासो गर्नुभयो ।

सुदूरपश्चिमको समग्र विकासका लागि यस क्षेत्रलाई निश्चित समयका लागि ‘करमुक्त क्षेत्र’ घोषणा गर्नुपर्छ भन्ने व्यवसायी उद्योगीले वर्षौंदेखि माग गर्दै आएका छन् ।

गरिबी र बेरोजगारी समस्या विकराल बन्दै गएको भए पनि गरिबी घटाउने र रोजगारी बढाउनेतर्फ बजेट र नीति तथा कार्यक्रम मौन रहेको देखिएको स्थानीयले बताएका छन् ।

कृषक भने बजेटप्रति खुसी देखिएका छन् । कृषि क्षेत्रका लागि आयात गरिने विभिन्न यन्त्र एवम् उपकरणको भन्सार र मूल्य अभिवृद्धि कर छुट, वृद्धभत्ता वृद्धि, भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माण एवम् पुनःस्थापनालगायतका विषय बजेटका राम्रा पक्ष भएको स्थानीय कृषक चित्रराज भट्टले बताउनुभयो । रासस