काठमाडौं, २७ जेठ । काठमाडौं उपत्यकाका तीन जिल्लाका हिंसापीडित महिलालाई लक्ष्य गरी सञ्चालित ‘अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’बाट हालसम्म २५० भन्दा बढीले सेवा लिइसकेका छन् ।
थापाथलीस्थित प्रसूति गृहमा २०६९ सालदेखि सञ्चालित सो केन्द्रमा घरेलु हिंसा र विभिन्न यौनजन्य हिंसाका पीडित आउने गरेका छन् ।
उक्त केन्द्रबाट हिंसापीडित महिलाले स्वास्थ्य सेवाका साथै न्यायिक र मनोपरामर्श सेवासमेत निःशुल्क रूपमा प्राप्त गर्छन् ।
केन्द्रका इन्चार्ज सुकुमाया लामाका अनुसार केन्द्रबाट आवश्यक सेवा दिनाका साथै समाजमा पुनःस्थापित हुन नसकेका महिलाका लागि बस्ने व्यवस्थासमेत मिलाइएको छ ।
साढे तीन वर्षकी बालिकादेखि ४५÷५० वर्षका महिलाको घटनासमेत केन्द्रमा आउने गरेका छन् । बलात्कृत महिलाले चाहेमा १२ हप्तासम्मको र हाडनाता करणी भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्ने सुविधासमेत केन्द्रमा रहेको लामाले जानकारी दिइन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका लागि लक्ष्य गरिएको भए पनि अन्य जिल्लाबाट समेत हिंसापीडित महिला सेवा लिनका लागि आउने गरेका छन् ।














प्रतिक्रिया