काठमाडौं, २७ जेठ । प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा सानो दाग देखिएको उपचारमा संलग्न चिकित्सक प्राध्यापक डा.कवीरनाथ योगीले जानकारी दिएका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्रा.डा.योगीले नै प्रधानमन्त्री कोइरालाको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
प्रा.डा.योगीले आज विज्ञप्ति जारी गरेर कोइरालाको फोक्सोमा सानो दाग देखिएको बताए । ‘प्रधानमन्त्रीज्यूले पहिलेदेखि नै ब्रोङ्काइटिसको औषधिहरु नियमित सेवन गरिरहनु भएको छ,’ उनले भनेका छन्, ‘तीन हप्तादेखि सुख्खा खोकी र कहिले काही ज्वरो आउने लक्षण देखिएको छ । सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखिएकोले उहाँको थप परीक्षण हुँदै गरेको छ ।’
कोइरालाको थप निदानका लागि २४ गते स्वास्थ्य परीक्षणमा संलग्न विज्ञ समूहले अनुकूल समयमा सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य जाँच गर्नु उपयुक्त हुने सल्लाह दिएको विज्ञप्तिमा जनाइएको छ ।
जिब्रोको क्यान्सरको अमेरिकामा सल्यक्रिया गराएपछि सोही अस्पतालमा बर्षको एकपटक नियमित अनुगमन परीक्षण गराउदै आएका कोइरालाले असार महिनाको दोस्रो हप्ताभित्र नियमित परीक्षण गराउन उपयुक्त हुने उनले बताए ।
प्रधानमन्त्रीको स्वास्थ्यप्रति सबैको चासो रहने भन्दै प्रा.डा.योगीले व्यक्तिको गोपनीयतालाई पनि ध्यान दिएर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।














प्रतिक्रिया