काठमाडौँ, २९ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो भारत भ्रमणमा जाँदैछन् । भारत सरकारको निमन्त्रणामा पाँच दिनका लागि प्रचण्ड भारत जान लागेका हुन् ।
प्रमुख दलहरुबीच संविधान निर्माणको विषयमा १६ बुँदे सहमति भएको र संविधानसभाले संविधानको मस्यौदा जनतामा घरमा पठाएको बेला प्रचण्डको भारत भ्रमण हुन लागेको हो ।
प्रचण्डका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले भारत सरकारको निमन्त्रणामा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जान लागेको बताए । भ्रमणको क्रममा उच्चस्तरीय भेटघाट हुने बताइएको छ ।
भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट वार्ता गर्ने कार्यक्रम छ । पाँच दिने भारत भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्च अधिकारीसँग पनि भेट वार्ता गर्ने एमाओवादीका केन्द्रीय सदस्यसमेत रहेका खड्काले बताए ।
भ्रमणका क्रममा नेपाल, भारत र चीनबीच हुने भनिएको त्रिदेशीय समझदारीका विषयमा पनि छलफल हुने बताइएको छ । प्रचण्ड साउन ३ गते स्वदेश फर्किनेछन् ।













प्रतिक्रिया