काठमाडौं, २९ असार । युरोपेली मुलुकबाहेकका विद्यार्थी प्रत्यक्ष प्रभावित हुने गरी बेलायत सरकारले नयाँ अध्यागमन नियम प्रस्ताव गरेको छ ।
नयाँ नियममा अध्ययन सकिएपछि विदेशी विद्यार्थीहरु स्वदेश फर्कनुपर्ने व्यवस्था रहेको कान्तिपुर दैनिकले छापेको छ । यसअघि विद्यार्थीले टियर टु (वर्क परमिट) भिसा परिवर्तन गरी काम गर्न पाउने व्यवस्था थियो ।
गृहमन्त्री टेरेजा मेले निर्देश गरेको उक्त नियमले पढाइ सकिएपछि विद्यार्थीलाई काम गर्ने अधिकारबाट वञ्चित गर्ने बेलायती अखवार डेली मेलले लेखेको छ ।
गत वर्ष जुनसम्मको सरकारी तथ्यांकअनुसार, वर्ष दिनमा १ लाख २१ हजार अन्तर्राष्ट्रिय विद्यार्थी बेलायत आएकामा ५१ हजारमात्र फर्किएका थिए ।
सन् २०२० सम्म प्रतिवर्ष ६ प्रतिशतभन्दा बढीले विदेशी विद्यार्थी आगमन वृद्धि हुने अनुमान सरकारको छ ।
केही वर्षयता अन्तर्राष्ट्रिय विद्यार्थीप्रति अनुदार देखिएको सरकारले हालसम्म ८७० ‘नक्कली’ कलेजका लाइसेन्स खारेज गरी तिनलाई विदेशी विद्यार्थी झिकाउन प्रतिबन्ध लगाइसकेको छ ।















प्रतिक्रिया