३० आश्विन २०८३, शुक्रबार

विमानस्थल कालोपत्र गर्ने कार्य नब्बे प्रतिशत सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-luklaमुगु, २८ असार । मुगुको ताल्चमा रहेको रारा विमानस्थल कालोपत्र गर्ने कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।

निर्माणको जिम्मा लिएको नव नेपाल कन्स्ट्रक्सन जेभी मृत सञ्जिवनी निर्माण सेवाका प्रतिनिधि राजु बर्तौलाका अनुसार विमानस्थलको ५७० मिटर लम्बाइ र २० मिटर चौडाइ कालोपत्र हुनुपर्नेमा आजसम्म ५४५ मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ । बाँकी २५ मिटर भाग अलकत्रा सकिएकाले कालोपत्र हुन सकेको छैन ।

रारा नागरिक उड्डयन कार्यालयका प्रमुख भीमदत्त पन्तले कालोपत्र हुन बाँकी भाग विमानस्थल अवतरण विन्दुभन्दा बाहिर भएकाले यसले विमान अवतरणमा कुनै समस्या नपर्ने बताउनुभयो । विमानस्थल कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेसँगै सङ्केत लाइन हाल्न सुरु गरिएको छ ।

“प्राधिकरणको टोली काठमाडौँ गएको छ, उक्त टोलीले प्राधिकरणमा प्रतिवेदन बुझाएपछि मन्त्रालयबाट परीक्षण उडानको टिप्पणी उठ्नेछ” कार्यालय प्रमुख पन्तले भन्नुभयो । विमानस्थल निर्माणको कार्य किस्ता किस्तामा भइरहेको छ । विसं २०३८ सालमा शिलान्यास भएको भए पनि २०४६ सालपछि मात्र निर्माण कार्यले तीव्रता पाएको थियो । विसं २०६० सालमा निर्माण कार्य सम्पन्न भएको हो । गत वर्षबाट स्तरोन्नतिको काम सुरु भएको थियो भने गत महिनाको ७ गतेबाट कालोपत्र गर्ने कार्य सुरु भएको थियो ।

यो विमानस्थल शिलान्यासदेखि कालोपत्रसम्म आइपुग्दा ३४ वर्ष वितेको छ । “बीचबीचमा पानी परेकाले १३ दिनमै कालोपत्र गर्ने कार्य सम्पन्न गरेका छाँै” बर्तौलाले भन्नुभयो । विमानस्थलको कालोपत्र भएकाले अहिले यहाँका सर्वसाधारण, कर्मचारी तथा यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि खुसी भएका छन् । भरपर्दो यातायातका साधन नहुँदा यहाँ उत्पादित स्याउ, ओखर, कागती, जडीबुटी प्रमुख बजारसम्म पुग्न सकेका थिएनन् ।

कच्ची विमानस्थलमा आउने सीमित विमानहरुले मनपरी भाडा कायम गर्दा यी वस्तु जिल्ला बाहिर पठाउन सकिएको थिएन भने यात्रुले सास्ती व्यहोर्नुपरेको थियो । विमानबीच प्रतिस्प्रधा भई यात्रुले उडान यात्रामा राहत पाउने आशा गरिएको छ ।

विमानस्थल शिलान्यासदेखि कालोपत्रसम्म रु ३४ करोड बढी रकम खर्च भएको रारा नागरिक उड्डयन कार्यालयले जनाएको छ । धावन मार्ग कालोपत्र गरिए पनि पार्किङ क्षेत्र, यात्रु प्रतिक्षालय र विमान कन्ट्रोल टावर निर्माण हुन बाँकी नै छन् । रासस