बाँके, २७ जेठ । देशकै पहिलो खुल्ला कारागार बाँकेमा बन्ने भएको छ । कारागार व्यवस्था विभागले जिल्लाको गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा पहिलोपटक खुल्ला कारागार बनाउन थालेको हो ।
कारागारका लागि नाप, नक्सा, अनुमानित लागत खर्च, भौतिक पूर्वाधार संरचना निर्माण ढाँचा सम्पन्न भएको छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले सबै प्रक्रिया पुगेकाले केही दिनमा टेन्डर खोल्ने बताउँदै ‘आन्तरिक सबै कार्य सकियो,’ उहाँले भन्नुभयो–“टेन्डर खुल्ला गरेर चालु आर्थिक वर्षमा निर्माण थाल्छौं ।”
उहाँका अनुसार खुल्ला कारागारमा कैदीले बाहिर गएर जागिर खोज्न, स्वरोजगार बन्न, घरबिदामा जान र स–परिवार कारगारमा बस्न पाउने व्यवस्था हुनेछ ।
राज्यले थप सुविधा नदिने तर दैनिक हाजिर लगाएर दिनभर बाहिर काम गर्ने र साँझ कारागारमा सुत्न आइपुग्नुपर्ने प्रावधान हुनेछ ।
पहिलो चरणमा कारागारमा १०० कोठा बनाइने भएको छ । एक कैदी बराबर एक कोठा आवश्यक पर्ने हुँदा पहिलो चरणमा सय क्षमताको खुल्ला कारागार बन्नेछ । नेपालमा खुल्ला कारागार नरहेकाले देशभर लक्षित गरी बाँकेको गनापुरमा खुल्ला कारागार बन्न थालिएको हो ।
चालु आर्थिक वर्षमा निर्माण सुरु गरी तीनदेखि पाँच वर्षभित्रमा काम सकिने कारागार व्यवस्था विभागको दाबी छ । अन्य कारगारभन्दा खुला कारगार व्यवस्थित र सुविधासम्पन्न मानिन्छ ।















प्रतिक्रिया