– नवराज विक
कतार । नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा नेफ्टा अवार्ड–२०७२ कतारमा हुने भएको छ ।
यसपटक नेफ्टा अवार्डको प्रतिस्पर्धामा ७५ वटा चलचित्रको सहभागिता रहने भएको छ । हाल काठमाडौँमा जुरी निर्णायकहरुले उत्कृष्ट पाँच चलचित्र छनोट गरिरहेको बताइएको छ । ती चलचित्रलाई कतारमा फिल्मी महोत्सवका रुपमा प्रदर्शन गर्ने आयोजकले बताएको छ ।
नेपाली चलचित्रका ३६ भिन्नभिन्न विधामा अवार्ड प्रदान गर्न लागिएको प्रविधि सङ्घका अध्यक्ष मनोज केसीले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
विसं २०५६ बाट सुरु गरिएको अवार्डको पाचाँै संस्करणसम्म नेपालमै आयोजना गरिएको थियो । नेफ्टाले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको स्तरोन्नति गर्न टेवा पु¥याउन मलेसिया, हङ्कङ हुँदै यसवर्ष कतारमा प्रवेश छ ।
प्रविधि सङ्घका महासचिव अनन्त तिमिल्सिनाले निष्पक्ष रुपमा अवार्ड प्रदान हुने विश्वास व्यक्त गर्दै कतारवासी नेपालीलाई उक्त अवार्ड कार्यक्रम सफल बनाउन सहयोग गर्न आह्वान गर्नुभयो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको समन्वयमा सम्पन्न हुन लागेको आठौँ नेफ्टा अवार्डको व्यवस्थापनको जिम्मा मञ्चका सल्लाहकार सागर नेपालले गर्नुहुने भएको छ ।
नेपाली चलचित्र प्रविधि सङ्घ र अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाबीच अवार्ड कार्यक्रम सम्पन्न गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । रासस
















प्रतिक्रिया