९ श्रावण २०८३, शनिबार

सामाजिक सञ्जालको दुरुपयोग रोक्न पहल भइरहेको छ : अध्यक्ष बस्नेत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ६ चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग रोक्न काउन्सिलले राज्यका निकायहरुसँग समन्वय गरेर काम गरिरहेको बताएका छन् ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आइतबार टेक्ससको युलेसमा आयोजना गरेको ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ विषयक अन्तरक्रियामा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यसले सञ्चारमाध्यमप्रतिको बुझाईमा समेत नकारात्मक असर गरिरहेकाले सामाजिक सञ्जालको दुरुपयोग रोक्नु आवश्यक रहेको बताए ।

‘सामाजिक सञ्जालको प्रयोग गरी कन्टेन्ट उत्पादन गर्ने कन्टेन्ट क्रियटर र सञ्चारमाध्यममा काम गर्ने पत्रकारलाई एकै प्रकारले बुझ्दा समस्या पैदा भइरहेको छ, सामाजिक सञ्जालमा गरिने झुटो र आधारहीन पोस्टहरुलाई पत्रकारले लेखेको भन्ने आमजनमानसमा बुझाइका कारण केही समस्या हुने गरेको छ,’ बस्नेतले भने । अध्यक्ष बस्नेतले वर्तमान अवस्थामा युट्युब सञ्चालनलाई कानुनी दायरामा ल्याउन र युट्युब सञ्चालकले सिर्जना गर्ने सामाजिक एवं पारिवारिक सामग्रीमाथि काउन्सिलले पछिल्ला वर्षहरुमा निगरानी बढाउन थालेको बताए ।

अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता कार्यन्वयनका लागि काउन्सीलले काम गरिरहेको बताउँदै विदेशबाट सञ्चालित नेपाली मिडियामा प्रकाशित सामग्रीहरुले स्वदेश र विदेशमा रहेका नेपाली समुदायमा प्रभाव पार्ने भएकाले पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

‘नेपालका मिडियाहरुले सुरु गरेको एआईको प्रयोगलाई समेत काउन्सिलले नियालिरहेको छ, विकसित मुलुकहरुमा मिडियाले गरिरहेका प्रविधिको प्रयोगलाई समेत नेपाली मिडियाहरुले पच्छ्याइरहेका छन्, जसले गर्दा अहिले तथ्य जाँचमा समेत टेवा पुगेको छ,’ अध्यक्ष बस्नेतले भने । सञ्चारमाध्यम एवं सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार एवम् संयमित बनेर समाचार एव सूचना प्रवाह गर्नसमेत अध्यक्ष बस्नेतको आग्रह थियो ।

कार्यक्रममा कार्यपत्र पेश गर्दै पत्रकार विनय गुरागाईंले वर्तमान अवस्थामा नेपाली पत्रकारितामा केही नयाँ आयामहरु थपिएको बताउँदै नेपालका मिडिया हाउसहरुले समेत प्रविधिको प्रयोगमा जोड दिनु सुखद् पक्ष रहेको बताए । पत्रकारले समाचार प्रवाह गर्दा आचारसंहिताको दायराभित्र बसेर गर्नुपर्नेमा जोड दिँदै उनले समाचार सिर्जना गर्दा पत्रकार संयमित र जिम्मेवार बन्नु आवश्यक रहेको उल्लेख गरे ।

नेजाका सल्लाहकार सञ्जय घिमिरेले प्रविधिको बढ्दो विकाससँगै प्रविधिको मात्र प्रयोग गरेर सञ्चारमाध्यमका नाममा बढ्दो द्विविधा र विकृतिप्रति काउन्सिललाई थप निगरानी गर्न आग्रह गरे । घिमिरेले नेपाली मिडियामा पछिल्लो समय केही अराजकता पनि देखिएकाले त्यस्ता मिडियलाई हदैसम्मको कारबाही गर्न काउन्सिल हिच्किचाउन नहुने धारणा राखेका थिए ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, महासचिव बाबुराम दाहालको सञ्चालन र नेजाका क्षेत्रीय संयोजक शंकर थापाले धन्यवाद दिएको कार्यक्रममा विभिन्न नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरु, संघ संस्थाका प्रमुखहरु, सामाजिक अभियन्ताहरु एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

Skip This