३० आश्विन २०८३, शुक्रबार

मैले सूर्यमालाभित्रको अभिनेत्रीलाई मारे : सरोज खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saroj khanalकाठमाडौँ । नेपाली चलचित्रमा चर्चामै रहेका बेला अमेरिका पलायन भएका कलाकार सरोज खनाललाई जीवनमा तपाइँलाई सबैभन्दा पछुतो लाग्ने कुरा के छ ? भन्ने प्रश्न गर्दा उहाँले जवाफ यसरी दिनुभयो–‘मैले मेरी श्रीमती सूर्यमाला शर्माभित्र रहेको एउटी अभिनेत्रीलाई मार्ने काम गरेँ । अमेरिका जाने मेरो निर्णय थियो तर उनलाई एकपटक पनि नसोधी मैले आफूसँगै अमेरिका लिएर गएँ । उनी नेपालमा राम्रो अभिनेत्री थिइन् तर उनको अभिनयलाई पूर्णविराम लगाउने काम मैले गरेँ । मलाई अहिले पनि यस कुरामा पछुतो लाग्छ ।’

कालिकास्थानमा रहेको सर्वनाम थिएटरले शनिबारदेखि सुरु गरेको ‘कलाकारसँग अन्तरङ्ग’ कार्यक्रमका पहिलो अतिथि बन्दै उहाँले आफूले कतिपटक प्रयत्न गर्दा पनि सूर्यमालालाई अभिनयमा फर्काउन खोज्दा पनि नसकेकाले अब दर्शकको चाहनाले मात्र त्यो सम्भव हुने बताउनुभयो ।

‘सरोज खनालसँग ६० मिनेट’ मा दर्शकले उहाँका अभिनय, अमेरिका बसाईं र व्यक्तिगत विषयमा गरेका प्रश्नको उत्तर र १७ वर्षपछि पहिलोपटक रङ्गमञ्चमा नाटक प्रस्तुत गर्नुभएको थियो ।

सत्र वर्षको अमेरिका बसाइँपछि अब नेपालमै केही गर्छु भन्ने सोँचका साथ फर्कनुभएका कलाकार खनालले नेपाललाई ‘ल्यान्ड अफ पोसिबिलिटिज्’ का रुपमा लिएको बताउनुभयो ।

एक दर्शकले गरेको प्रश्नमा उहाँले भन्नुभयो, “कोही अमेरिका जान चाहन्छ भने म नजाउ त भन्दिन तर त्यहाँबाट केही सिकेर छिट्टै नेपाल फर्क है चाहीँ पक्कै भन्छु ।”

अमेरिका जानेबित्तिकै आफू अभिनय नै गर्ने भन्दै हलिउडमा समेत गएको उहाँले स्मरण गर्नुभयो । “युएसए भनेको यु स्टार्ड एगेन रहेछ”, उहाँले भन्नुभयो, “त्यहाँ नेपालमा तँ जतिसुकै ठूलो कलाकार भएपनि यहाँ जिरोदेखि नै सुरु गर्नुपर्छ भनेर सुरुमा एक्टिङ् कोर्स लिन भनियो । कोर्सको त ६० हजार डलर पो रहेछ मसँग त मात्र ६० डलर थियो । त्यसपछि हलिउडमा अभिनय गर्ने रहर पनि कता हरायो कता ।”

निर्देशक राजेन्द्र शलभले गर्नुभएको अन्तरङ्ग कुराकानीमा कलाकार खनालले अहिलेका कलाकारले अभिनय विषयलाई पढ्न समेत पाउने भएकाले उनीहरुलाई भाग्यमानीका रुपमा लिनुभयो । “हाम्रा पालामा अभिनयको अ पनि नजानेकाहरु चलचित्र निर्माणतिर लाग्थे । अहिले त अभिनय, निर्देशनलगायत विषयलाई पढेर आउँछन् । यसले अभिनयलाई अब्बल बनाएको छ ।”

उहाँले पछिल्लोपटक ‘नाई नभन्नु ल–२’ बाट नेपाली चलचित्रमा पुनरागमन गर्नुभएको थियो ।