४ कार्तिक २०८३, बुधबार

ठग्न नपाएपछि आन्दोलन ?, वैदेशिक रोजगार व्यवसायी सडकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bairo (1)काठमाडौं, २७ असार । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले म्यानपावर व्यवसायीले गरेको आन्दोलन औचित्यहीन भएको बताएका छन् ।

गरिब कामदारलाई ठग्न पाऊँ भन्दै गत मंगलबारदेखि व्यवसायी आन्दोलनमा उत्रे पनि कुनै तुक नभएको राज्यमन्त्री गुरुङको भनाइ रहेको समाचार सौर्य दैनिकले छापेको छ ।

‘रोजगारीका लागि विदेश जाने गरिब नेपाली कामदारको हितमा ‘फ्रि भिसा’, ‘फ्रि टिकट’ लागू गर्ने निर्णय गरेको हुँ’, उनले भने, ‘कामदारको हितविपरीत कुनै निर्णय गर्दिनँ ।’

अन्तिम श्रम स्वीकृति निस्केका कामदारलाई विदेश पठाउन छाडेर कामदारसँग बढी पैसा लिन पाउनुपर्छ भन्दै व्यवसायी आन्दोलनमा उत्रँदा राजधानीमा १०/१२ हजार युवा बिचल्लीमा परेका राज्यमन्त्री गुरुङको दाबी छ ।

उनले व्यवसायीले कामदार पठाउन टिकट लिइसकेको, सम्बन्धित देशमा कमिसन दिइसकेकाले विदेश जाने युवालाई तत्काल पठाउन आग्रहसमेत गरे ।

‘केही व्यवसायीले भिसा लागेका कामदार पठाउन चाहे पनि आन्दोलनरत व्यवसायीले कामदार पठाउने म्यानपावर फुटाउने धम्की दिएका कारण पठाउन नपाएको गुनासो आउने गरेको छ’, राज्यमन्त्री गुरुङले शनिबार सौर्यसँग भने, ‘आज (आइतबार)सम्म हेर्छौं, व्यवसायीले आफ्नो दादागिरी कायम राखे सरकारले अन्य विकल्प चाल्छ ।’

‘विदेश जान काठमाडौं आएर बसेका कामदारलाई आर्थिक भार बढ्ने भएकाले कि तत्काल विदेश पठाउनुपर्छ कि पैसा फिर्ता दिनुपर्छ’, गुरुङले भने, ‘म्यानपावरमा जाने कामदारलाई व्यवसायीले वैदेशिक रोजगार विभागमा गएर समयमा नै विदेशमा नपठाएको भनेर उजुरी हाले राम्रो नहुने भन्दै धम्क्याउने गरेको उजुरी पनि मन्त्रालयमा आएको छ ।’

कामदारलाई समस्यामा पार्ने व्यवसायीले तत्काल उनीहरूलाई विदेश नपठाए मन्त्रालयले अन्य विकल्प चाल्ने उनले बताए । व्यवसायीले सरकारको निर्णयको स्वागत पनि भने र आन्दोलन पनि गरे ।

‘स्वागत पनि भन्ने आन्दोलन पनि गर्ने ? यो आन्दोलनको कुनै पनि तुक छैन’, उनले भने, ‘व्यवसायीलाई छलफल गर्न शुक्रबार पत्राचार गरेको, सरकार हाम्रो आन्दोलनले गिर्‍यो भनेर प्रचार गरिरहेका छन्, म कामदारको हितमा काम गर्न पछि पर्दिनँ, त्यसैले सरकार झुकेको भन्ने भ्रममा व्यवसायी नपर्दा हुन्छ ।’ उनले व्यवसायीले गरेको आन्दोलनले उनीहरूकै छविमा आँच आउने भएकाले छलफलमा बोलाएको, व्यवसायीले कुरा नबुझेर, बढी पैसा लिन पाउनुपर्छ भनेर आन्दोलन गरेको दाबी गरे ।

राज्यमन्त्री गुरुङले भने, ‘व्यवसायीको आन्दोलन के हो रु किन गरेको भनेर साधारण नेपाली जनताले पनि बुझेका छन्, हामीले किन बढी व्याख्या गर्नु ?’
व्यवसायीले विभिन्न राजनीतिक दलका नेताकहाँ पनि यो विषय पुर्‍याए, राजनीतिक दलका नेताले पनि वास्तविकता बुझेर यो निर्णय लागू गर्नुपर्छ भन्नेमा सहमति जनाएको गुरुङले बताए ।

रोजगारीका लागि विदेश हिँडेका गरिब नेपाली कामदारलाई सहजै ठग्न पाउनुपर्छ भन्दै म्यानपावर व्यवसायीको आन्दोलन जारी छ । आइतबार पनि आन्दोलन जारी रहने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले बताए ।

सरकारले गत सोमबारदेखि ६ खाडी देश र मलेसियामा फ्रि भिसा र फ्रि टिकटमा मात्र पूर्व श्रमस्वीकृित दिने निर्णयपछि व्यवसायी त्यसविरुद्ध आन्दोलित भएका हुन् ।

सरकारी निर्णय रोजगारीका लागि विदेश जाने कामदार तथा सम्बद्ध संघसंस्थाले स्वागत गरे पनि सात सय ५२ व्यवसायी कर्मचारीसहित आन्दोलनमा उत्रेका छन् ।

आफू पनि पहिला म्यानपावर व्यवसायी भएकाले कामदारको समस्या बुझेको र व्यवसायीले कसरी ठग्छन् भन्ने विषयमा जानकार भएको दाबी गर्दै गरिब कामदारको हितका लागि ‘फ्रि भिसा’, ‘फ्रि टिकट’ लागू गरेरै छाडिने राज्यमन्त्री गुरुङले बताए । उनले भने, ‘मलाई कसैको डर छैन, तर कामदारको हितमा काम गर्ने विषयमा चुक्ने छैन ।’

यसअघि सरकारले मलेसियाका लागि ८० हजार, कतारका लागि २० हजार र बाँकी पाँच खाडी देशका लागि ७० हजार रुपैयाँ सिलिङ तोकेको थियो । म्यानपावर व्यवसायीले मलेसियाका लागि न्यूनतम एक लाख २५ हजारदेखि माथि, कतारका लगि ७० हजारसम्म र अन्य खाडी देशमा एक लाख र संयुक्त अरब इमिरेट्स (युएई)को सुरक्षा गार्डमा जानेलाई तीन लाख ५० हजार रुपैयाँसम्म लिने गरेका छन् ।

सिलिङभन्दा बढी शुल्क लिए पनि रसिद सिलिङ बराबरको मात्र दिने गरिएको छ ।
यसरी कामदार ठगिने क्रम बढेपछि अवैधानिक रूपमा नेपालबाट विदेशमा वार्षिक पाँच अर्ब रुपैयाँभन्दा बढी विदेशिएको थियो । मलेसिया, कतारलगायत देशबाट फ्रि भिसा, फ्रि टिकटको मात्र आए पनि व्यवसायीले एक लाख २५ हजार रुपैयाँसम्म असुल्ने गरेका थिए ।

सरकारले गरेको निर्णयले कामदार ठगिन कमी आउने भए पनि व्यवसायीले गरिब नेपाली कामदार ठग्न पाउनुपर्छ भन्दै आन्दोलन गरेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष हंसराज वाग्लेले बताए ।

मंगलबारदेखि व्यवसायीले गरेको आन्दोलनमा पहिलोदिन स्वयं व्यवसायी सहभागी भए पनि दोस्रो दिनदेखि व्यवसायीको उपस्थिति कम र उनीहरूका कर्मचारीको संख्या बढी देखिन थालेको आन्दोलनमा सहभागी व्यवसायीले बताए । व्यवसायीले पाँच दिनदेखि निरन्तर आन्दोलन गरे पनि सरकारले आन्दोलनको बेवास्ता गरेको छ ।

‘व्यवसायीको माग सम्बोधन हुनेमा व्यवसायीलाई नै विश्वास छैन्’, एक व्यवसायीले भने, ‘सरकारले गरेको निर्णय ठीकै हो, कतिपय म्यानपावरले वर्षौं पुग्ने सम्पत्ति कमाएका छन् । तर, सरकारले पहिला सम्बन्धित देशमा श्रम सम्झौता गरेर नेपालका लागि कोटा निर्धारण गरेको भए प्रभावकारी हुने थियो ।’

व्यवसायीको विरोधका कारण दैनिक आठ सय युवा संस्थागत (म्यानपावर)बाट विदेश जान रोकिएका छन् । व्यवसायीले सरकारको निर्णय फिर्ता गराउन संघका अध्यक्ष विमल ढकाल, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपाने र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष नरेश गेलाल तथा संघको निर्वाचनमा पराजित अध्यक्षका प्रत्यासीद्वय सरोजकुमार पोखरेल र किरणकिशोर घिमिरेलाई विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग कुरा गर्ने जिम्मेवारी दिएको छ ।

व्यवसायीले अव्यवस्थित कम्पनीमा कामदार पठाउँदा कामदारले समयमा भनेजति तलब नपाउने, लेबी काट्ने बिरामी हुँदा औषधि उपचार नगर्ने, होस्टेलको राम्रो व्यवस्था नगर्ने, तीन चार महिनासम्म तलब नदिने समस्या बढेका छन् ।

नेपालमा साहुसँग लाखौँ ऋृण काढेर विदेश जाने कामदारले म्यानपावरले भनेको सेवा सुविधा, तोकेको तलब नपाउँदा आत्महत्या गर्ने क्रम बढेको छ । सरकारले गरेको निर्णय कार्यान्वयनमा आए यो क्रम घट्ने राज्यमन्त्री गुरुङको विश्वास छ ।