काठमाडौँ, २५ असार । विश्व ट्वन्टी–२० छनोटअन्तर्गत आज साँझ भएको खेलमा नेपाल विजयी भएको छ । अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ ।
आयरल्यान्डको बेलफास्टमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउँदै १२१ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको नेपालले १२२ रनको लक्ष्य २ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि ओपनर सागर पुनले ६ रन बनाए । अनिल मण्डल २९ जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको अर्धशतक प्रहार गरे । ८ बलमा ७ रन हान्दै विनोद भण्डारी आउट भए । त्यसपछि व्याटिङ सम्हालेका कप्तान पारस खड्काले नटआउट २१ रन बनाए । अन्तिममा व्याटिङमा पारसलाई साथ दिन आएका शरद भेष्वाकरले २ रन हान्दा नेपाल विजयी भयो ।
अमेरिकाका जसदिप सिंहले नेपालका २ विकेट लिए । हम्माद साहिद र करन गणेशले समान १/१ विकेट लिए ।
यसअघि अमेरिकाका लागि फाहद बाबरले २३, हमाद सहिदले पाँच, अकिम डोडसनले ३९, शिव भासिसातले तीन, म्रुनल पटेलले सात, करन गणेशले १५, जापिन पटेलले एक, अधिल भट्टीले १४, क्याप्टेन मोहमद घाउसले २ र तिमिल पटेलले दुई रन जोडेका थिए ।
नेपालका लागि शक्ति गौचन र वसन्त रेग्मी तीन तीन, सोम्पाल कामी दुई र सागर पुनले एक विकेट लिए । टि-ट्वन्टी प्रतियोगितामा नेपाली टोली अमेरिकासँग पहिलो पटक आधिकारिक खेलमा आमनेसामने भएको हो । यसअघि सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको टि–ट्वन्टी विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको थियो ।















प्रतिक्रिया