काठमाडौं, २७ जेठ । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि छिट्टै अमेरिका जाने भएका छन्। हल्का ज्वरो, खोकीले ग्रस्त बनाएपछि पछिल्ला दिनमा चिकित्सकको निगरानीमा रहेका कोइराला थप उपचारका लागि अमेरिका जान लागेका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले कोइराला नियमित स्वास्थ्य परीक्षणका लागि अमेरिका जाने तयारीमा रहेको पुष्टि गरे। ‘संसद अवरोधसहित अन्य कुरा मिलाएर जानुहुन्छ,’ उनले सोमबार भने, ‘जाने दिन टुंगो लागेको छैन।’
लामो समयदेखि निमोनियाबाट पीडित कोइरालाको फोक्सोको इन्फेक्सन बढेको भन्दै चिकित्सकहरूले तत्काल अमेरिका जान सल्लाह दिएको निकट स्रोतले बतायो। कोइरालालाई यसअघि उपचार गराएको न्युयोर्कस्थित क्यान्सर सेन्टरमा जान सल्लाह दिइएको छ। उनी यसअघि परीक्षण गराएको चिकित्सकसँग समय मिलाउन खोजिरहेको स्रोतले बतायो।
‘अहिले फोक्सोको इन्फेक्सन बढेकाले उपचारका लागि अमेरिका जान सल्लाह दिएका छौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘डाक्टरले समय दिनेबित्तिकै अमेरिका जानुहुन्छ।’
भारत भ्रमणबाट फर्केलगत्तै कोइरालाको स्वास्थ्यमा समस्या देखिँदै आएको छ। करवीरनाथ योगी नेतृत्वको चिकित्सक टोलीले उनको नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ। योगीको सल्लाहअनुसारै केही दिनअघि कोइरालाको सिटिस्क्यानसहित विभिन्न परीक्षण गरिएको थियो। नागरिक दैनिकबाट














प्रतिक्रिया