
लुम्बिनी, १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरूरी रहेको बताएका छन् । आजदेखि बुटवलमा सुरु भएको प्रदेशस्तरीय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कलाकृति र सीपलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन सकिने भएकाले यसतर्फ लाग्न कलाकारलाई आग्रह गरे ।
लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको भन्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए । लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिने उनको धारणा थियो ।
मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । ‘कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति हो । यस्ता प्रदर्शनीले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्ने छ’, उनले भने, ‘विविध सांस्कृतिक सम्पदाको अभिव्यक्तिसँगै समाजका विभिन्न पक्ष उजागर गर्ने माध्यमका रूपमा यस्ता गतिविधि फलदायी साबित हुनेछन् ।’
मुख्यमन्त्री आचार्यले सरकारले भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण र विकासका लागि प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी गराए । उनले विधेयक तर्जुमा प्रक्रिया जारी रहेको र सबै पक्षलाई समेटेर ऐन तयार पारिने बताए ।
ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले तीनै तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवद्र्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्रहरू कोरिने बताए ।








प्रतिक्रिया