काठमाडौं, २५ असार । सुन व्यापारीले २४ क्यारेट भन्दै महँगो मूल्यमा बेच्ने सुनमा मिसावट हुने गरेको फेलापरेको छ।
उपभोक्ता ठग्ने यस्ता व्यापारीलाई वाणिज्य तथा आपूर्ति विभागले भने कुनै कारबाही नगरी उन्मुक्ति दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
व्यापारीले सुनमा चाँदी र चाँदीमा क्याडमियमजस्ता घातक पदार्थ मिसावट गर्दै आएको रहस्य सार्वजनिक भएको हो।
नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालाले परीक्षण गर्दा यस्तो मिसावट पत्ता लागेको हो। तर वाणिज्य विभागले नापतौल विभागले सुनको परीक्षण गरेर दिएको कैफियत सम्बन्धी प्रतिवेदनसमेत लामो समयसम्म लुकाएर राखेको छ।
वाणिज्य विभागका हालका अनुगमन अधिकृत तथा निर्देशक हरिप्रसाद बेलबासेको नेतृत्वमा २०७० पुस ८ गते राजधानीका पाँचवटा सुन पसलमा अनुगमन गरिएको थियो।
अनुगमन भएको दुई वर्ष ६ महिना बितिसक्दा पनि विभागले दोषी भनिएका कुनै पनि व्यापारीमाथि कारबाही गरेको छैन । बेलबासे त्यसबेला पनि अनुगमन प्रमुखका रूपमा विभागमा कार्यरत थिए।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अनुगमनपछि वाणिज्य विभागले गहनाका नमुना परीक्षणका लागि पठाएको स्वीकार गरे।
उनले परीक्षण गर्दा सुनमा मिसावट भेटिएकाले आवश्यक कारबाही गर्न वाणिज्य विभागलाई पत्राचार गरिएको जानकारी दिए।
‘हाम्रो प्रयोगशालाले परीक्षणपछि सुन र चाँदीका गहनामा कैफियत भेटेको थियो। कारबाही गर्ने अधिकार हामीलाई नभएकाले उपभोक्ता हित संरक्षण ऐनअन्तर्गत कारबाही गर्न तत्कालै वाणिज्य विभागलाई पत्राचार गरिएको थियो’, पुडासैनीले बिहीबार भने, ‘तिवेदनका आधारमा उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गर्नुपर्ने थियो तर कारबाही नभएको सुन्दा आश्चर्य लाग्यो।’















प्रतिक्रिया