काठमाडौं, २५ असार । संघीय समाजवादी फोरम नेपालले संसदीय दलको नेतामा वरिष्ठ नेता अशोक राईलाई चयन गरेको छ ।
फोरम संसदीय दलको बुधबार र बिहीबार बसेको बैठकले राईलाई नेता, लालबाबु राउतलाई उपनेता र डा शिवजी यादवलाई सचेतक सर्वसम्मतिले चुनेको समाचार आजको सौर्य दैनिकले छापेको छ ।
राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालबीच गत जेठ ३२ गते पार्टी एकता घोषणा भएको थियो ।
पार्टी एकीकरणका लागि कुनै समयको आफ्ना कार्यकर्ता यादवलाई राईले आफ्नो नेता मानेका थिए ।
त्यसपछि पार्टी एकीकरण सम्पन्न भएको थियो । एकीकरणका क्रममा युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टी पनि सामेल भएको थियो ।
गाभिएका तीन दललाई यादवले नेतृत्व गरेका छन् । एकीकृत पार्टीमा जम्मा १५ सभासद् छन् ।
संसदीय दलको नेतामा चुनिएका राई यसअघि नेकपा एमाले उपाध्यक्ष थिए ।
उनले एमाले फुटाएर नयाँ पार्टी गठन गरे पनि कुनै उपलब्धि गर्न नसक्दा अन्ततः यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालमा पार्टी एकीकरण गर्नुपरेको थियो ।
संयुक्त एकीकृत यादव नेतृत्वको पार्टीले संविधानको नयाँ मस्यौदाको विरोधमा आवाज उठाउँदै आएको छ ।















प्रतिक्रिया