४ कार्तिक २०८३, बुधबार

पतिपत्नी फोटो खिच्न लागेको देखेर सभासद्हरू हाँस्न थालेपछि मन्त्री खड्का लजाइन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Milan_Rajbasmi2काठमाडौं, २४ असार । जब माले महासचिव सीपी मैनाली दौडिँदै एमाले अध्यक्ष केपी ओली र एमाले वरिष्ठ नेता माधव नेपालको बीचमा उभिएर फोटो खिच्न तयार भए, ओलीले शान्त मुडमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि संयुक्त फोटोका लागि आग्रह गरे।

ओलीको आग्रहलाई दाहालले अलि अप्ठ्यारो मानेपछि उनी बसेको कुर्सीसम्मै लिन पुगे एमाले नेता अमृत बोहोरा।

नेताहरू संयुक्त फोटोका लागि तयार भएपछि सभासद्का मोबाइल, आइप्याड र ट्याब्लेट व्यस्त हुन थालेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

शीर्ष नेताहरूसँग फोटो खिच्न सभासद्‌बीच तँछाडमछाड नै चल्यो। सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति डा। रामवरण यादव आउने भएपछि बुधबार संसद् बैठक सिँगारिएको थियो।

बैठकमा सभासद्‌मात्र होइन, शीर्ष नेता पनि फोटो खिच्नमा व्यस्त देखिए।

माले महासचिव मैनालीको फोटो खिच्दै गर्दा महिला, बालबालिकामन्त्री निलम खड्कालाई पनि सीपीसँगै फोटो खिच्न अघि सारे पर्यटनमन्त्री कृपासुर शेर्पाले।

नेता पतिपत्नी एकसाथ फोटो खिच्न लागेको देखेर सभासद्हरू हाँस्न थालेपछि मन्त्री खड्का लजाइन्। तर मैनालीले अप्ठ्यारो नमान्न आग्रह गरेपछि उनी फोटोका लागि तयार भइन्।

एमालेबाट विभाजित भई मालेको नेतृत्व समालिरहेका मैनालीले एमालेका सबै नेतासँग फोटो खिचेका थिए।

एमाले नेताहरूको भीडमा थपिँदै पटकपटक फोटो खिच्ने मौका पाए परिवार दलका अध्यक्ष एकनाथ ढकालले।

उनले आफ्नो मोबाइलमा आफ्नै दलकी सभासद् मिलन राजवंशीलाई पटकपटक फोटो खिच्न लगाएका थिए।

एमाले अध्यक्ष ओली र नेता नेपालसँग एमालेका मात्र नभई अन्य दलका सभासद्ले पनि पटकपटक फोटो खिचेका थिए।

नेपालले त आफैं पनि फोटो खिचेका थिए। उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमदेखि सभासद्हरू रुक्मिणी चौधरी, यशोदाकुमारी लामा, विक्रम पाण्डे, अइन्द्रसुन्दर नेम्बाङ, प्रेमबहादुर सिंहलगायत धेरै सभासद्ले फोटो खिचाएका थिए।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि संसद् बैठकमा नेता र सभासद्को फोटो सेसन नै चलेको थियो।

एमाओवादीका नेता बाबुराम भट्टराई र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भने एउटै पनि फोटो नखिचाई कुर्सीमा बसेका थिए।

देउवा त राष्ट्रपति संसद् बैठकमा प्रवेश गर्दा कुर्सीबाट पनि उठेनन्। राष्ट्रपति प्रवेश हुनासाथ अन्य सभासद् आआफ्नो कुर्सीबाट उठेर स्वागतमा उभिँदा देउवामात्र कुर्सीमा बसेका थिए। राष्ट्रिय गान बजेपछिमात्र देउवा उठेका थिए।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति यादवले दुरुत्साहित शब्द दुईपटक उच्चारण गर्दा पनि स्पष्ट नभएपछि अंग्रेजी शब्द डिसकरेज प्रयोग गरेका थिए। यो अंग्रेजी शब्द नीति तथा कार्यक्रमको लिखतमा छैन।