
मुगु, २५ माघ । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ ।
मुगुसहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उम्रेको अन्नबाली खेतबारीमै सुक्न थालेको छ । विगतका वर्षहरुमा पुुस, माघ महिनामा धेरै हिउँपर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो । तर यसवर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित, वनजङ्खल समेत सुख्खा भएका छन् ।

सिंचाइका लागि कुलो नहर नभएको, खेतीयोग्य जमिन सबै आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेको छ । हिउँपानी नपर्दा बाली नफस्टाउने भएकाले भोकमरी हुनसक्ने सम्भावन रहेको छाँयानाथ रारा नगरपालिका–९ मुर्माका कृषक वीर्खबहादुर सोकायाले बताए ।
मुगु जिल्लामा १७ सय ८५ केक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन लगाएको अन्नबालीमध्ये ७० प्रतिशतभन्दा बढी आकाशे हिउँ पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
विगत तीन चार वर्ष यता बेलामौकामा पानी नपरेकाले समस्या भोग्दै आएका कृषकहरु यसवर्ष माघ महिनाको तेस्रो साता बितिसक्दा पनि हिउँ र पानी नपर्दा कृषक तनावमा छन् ।
सरकारले साना सिंचाइका कार्यक्रम संचालन गरेपनि त्यो अपुग भएको छ । विशेषगरी पछिल्लो समय जलवायुको प्रत्यक्ष असरका कारण हिउँ/पानी नपरेको, पानीका मुहानहरु सुक्दै गएकाले कृषकलाई समस्या भएको जिल्ला कृषि विकास कार्यालय मुगुका कृषि प्रचार अधिकृत तथा सूचना अधिकारी अनुजकुमार मण्डलले बताए ।















प्रतिक्रिया