
काठमाडौं, १६ माघ । नेकपा (एमाले)का नेता विष्णु रिजालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको स्वागत गर्दै यसले नागरिक स्वतन्त्रताको सम्मान र सञ्जालको सदुपयोगमा टेवा पुर्याउने बताएका छन् ।
बुधबार फेसबुकमा लेख्दै रिजालले सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने, आरोप लगाउने र अफवाह फैलाउने जस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको औंल्याएका हुन् ।
‘सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने, आरोप लगाउने, अफवाह फैलाउने, हुँदै नभएका कुराहरु प्रचार गर्ने, सामाजिक सद्भाव भड्काउने जस्ता असामाजिक तथा अमानवीय क्रियाकलाप नियन्त्रण आवश्यक छैन र ?,’ नेता रिजालले भनेका छन्, ‘पक्कै पनि स्वतन्त्रता संकुचित नहोस् तर तपाईंले सामाजिक सञ्जालमा कुनै कुरा लेख्नुहुन्छ भने त्यसलाई पुष्टि गर्ने र जिम्मेवारी लिने जिम्मा तपाईंकै हुन्छ । पुष्टि गर्न नसके जरिवाना, क्षतिपूर्ति तिर्नु विल्कुल अनिवार्य हुनुपर्छ । ’
विधेयकमा प्रस्तावित कडा दण्डसजायका प्रावधानले अपराध गर्नुअघि धेरै पटक सोच्ने वातावरण बन्ने उनको विश्वास छ ।
रिजालले युरोप–अमेरिकामा सडक गति उल्लंघन गरेबापत तत्काल जरिवाना तिर्नुपर्ने उदाहरण दिँदै नेपालमा पनि यस्तै व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । हाल एक रुपैयाँ जरिवाना तिरेर अपराध छल्न सकिने अवस्थाको अन्त्य गर्नुपर्ने नेता रिजालको भनाइ छ ।
‘ढिलै भए पनि सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अघि आउनु स्वागतयोग्य छ । यसबाट नागरिक स्वतन्त्रताको सम्मान र सञ्जालको सदुपयोग हुन्छ । आज कुनै अपराध गरेमा रु. १ जरिवाना गरेर झारा टार्ने अभ्यासले अपराध नियन्त्रण हुँदेन । विधेयकमा प्रस्तावित दण्ड–सजायसम्बन्धी कडा प्रावधानहरुले अपराध गर्दा १० पटक सोच्ने बनाउँछ ।’ नेता रिजालले भनेका छन् ।












प्रतिक्रिया