४ कार्तिक २०८३, बुधबार

कैलालीमा अनुमति नलिइ विद्यालय सञ्चालित, सरकार अनभिज्ञ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ असार । कैलालीमा अनुमति नलिई सञ्चालन हुँदै आएका विद्यालयलाई कारबाही गर्न थालिएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लामा अवैध रूपमा सञ्चालित बोर्डिङ स्कुललाई कारबाही गर्न थालेको सौयै दैनिकले छापेको छ ।

कैलाली जिल्लामा अनुमति नलिई सञ्चालन भएका ३२ वटा विद्यालय र कक्षा एकसम्म अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गरिरहेका ५० वटा विद्यालयलाई कारबाही गर्न थालेको जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए ।

शिक्षा कार्यालयले सोमबार धनगढी –१ अदालत रोडमा सञ्चालित त्रिपुरा सुन्दरी एकेडेमीलाई कारबाही गरेको छ ।

मंगलबार चौमालामा रहेको मञ्जुश्री अंग्रेजी बोर्डिङ स्कुल र बेहडाबाबा बोर्डिङ स्कुललाई सधैँका लागि बन्द गरी कारबाही गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश भट्टराईले बताए ।

जिल्लामा अवैध रूपमा सञ्चालित निजी स्कुललाई बन्द गराउन अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघलगायत विद्यार्थी संगठन, प्याब्सन, एन प्याब्सन, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिको टोलीले अनुगमन गरी कारबाही गर्न थालेको छ ।

‘अनुमति नलिएका विद्यालय सञ्चालकलाई विद्यालय बन्द गर्न पटकपटक पत्राचार गरेको भए पनि अटेर गरी विद्यालय सञ्चालन गरिएको पाइएकाले कारबाही गर्न बाध्य भएका छौँ,’ सहायक जिशिअ खगेन्द्रबहादुर सिंहले भने ।

कैलालीमा लामो समयदेखि अवैध रूपमा ती विद्यालयहरू सञ्चालनमा रहेका थिए ।

शिक्षा कार्यालयको अनुमति नलिई मनोमानी गरी सञ्चालनमा आएका विद्यालयलाई नियम संगत कारबाही गर्छौं सहायक जिशिअ सिंहले भने थप कक्षाको अनुमति नलिएका तर माथिल्लो कक्षा सञ्चालन हुँदै आएकालाई पनि कारबाही गरिनेछ ।