काठमाडौं, २६ जेठ । राष्ट्रपति डा रामवरण यादवले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका राष्ट्रिय क्रिकेट टिमलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।
राष्ट्रपति डा यादवले १५ खेलाडीसहित प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र प्राविधिकलाई नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।
सम्मानस्वरुप खेलाडीहरुले जनही रु पाँच ,लाख प्राप्त गरे भने अन्यले रु तीन, तीन लाख प्राप्त गरेका थिए ।
सो अवसरमा राष्ट्रपति डा यादवले खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा देशको नाम उच्च राखेको भन्दै सरकारले खेलकुद क्षेत्रको विकास र विस्तारको लागि यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भयो ।
उहाँले अहिले आम नेपालीको चासो खेलकुद भएको हुदाँ खेल क्षेत्रमा लगानी बढाएर खेलाडीहरुको हौसला बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपालले बङ्गलादेशमा भएको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सरकारले मुलपानीस्थित अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य अगाडि बढाएको बताउनुभयो ।
नेपाली क्रिकेट टिमका कप्तान एवं पुरस्कृत व्यक्ति पारस खड्काले आगामी दिनमा अझ राम्रो खेल्दै राष्ट्रको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।












प्रतिक्रिया