– डम्मरराज भट्ट
महेन्द्रनगर २२ असार । महाकाली नदीमा पानी बढ्यो कि छेउछाउका गाउँमा त्रास सिर्जना हुन्छन् । नदी किनाराका स्थानीयमा भने बाढी आउने र घरखेत बगाउने त्रासले सताएको छ । नदीमा तटबन्ध निर्माणको कार्य सम्पन्न नभएका कारण जनताहरुमा त्रासदी बढेको हो ।
गतबर्ष भीमदत्तनगरपालिका १२ ऐरीघाट क्षेत्रमा २ करोड ३ लाखको ठेक्का भएकोमा १ करोड ७७ लाख बराबरको काम मात्र भएको छ, भने दोधारा चादनी क्षेत्रमा पर्ने ढक्नाघाटमा ४ करोड १२ लाखको ठेक्का भएकोमा २ करोड १६ लाख बराबरको काम मात्र भएको छ ।
यो बर्ष बजेट नै नआएका कारण नयाँ ठेक्का हुन नसकेको जनताको तटबन्ध कार्यालयका इन्जिनियर करबिर सिंह साउदले जानकारी दिनुभयो । नदीमा पानीको सतह नघट्दा र यो बर्ष चाँडै नदीमा पानीको वहाव बढेकाले गत बर्षको ठेक्काको निरन्तर काममा समेत अवरोध भएका कारण काम सम्पन्न हुन नसकेको साउदको भनाइ छ ।
तटबन्ध सम्पन्न भएको भीमदत्त नगरपालिका ११ भुजेलामा समेत सिबेज र नालाहरुको पानीका कारण डुबान हुने समस्या यथावत छ भने नालाको पानीले प्रेसर दिएको खण्डमा बाधमा क्षति पु¥याउने सम्भावना पनि त्यतिकै रहेको छ ।
स्थानीय जनताहरुले नदीमा पानीको बहाव बढेसंगै आफूहरु रातदिन जाग्राम बस्नुपर्ने अबस्था रहेको र ज्यान जोगाउन र गाइ बस्तु र श्रीसम्पत्ति जोगाउन धौ धौ पर्ने गरेको भन्दै बलियो बाध बनाइदिन सरकारसंग माग गरेका छन् ।
जमिन खोलामा र लालपुर्जा हातमा भएकोे अबस्था रहेको भन्दै समयका काम शुरु नहुने र बर्षाद शुरु हुनेबेला मात्र दुई चार जाली हाल्ने र नदीले बगाउने भएकाले समयमै मजबुद तटबन्ध निर्माण गरिनुपर्ने स्थानीयको माग छ । नदीमा पानी बढ्ने बित्तिकै भाग्नुपर्ने अबस्था भएको भन्दै महाकालीमा रहेको एसियाकै लामो झुलुङ्गे पुल समेत खतरामा परेको तटीय क्षेत्रका स्थानीय रमेश विष्टले जानकारी दिनुभयो । महाकालीमा ९७ करोडको गुरुयोजना स्वीकृत भएकोमा सो योजना अनुरुपको कार्यमा भने सयममै बजेट नआउने र काम नहुने जस्ता कारणले गर्दा निक्कै ढिलाइ भएको छ ।
जनताको तटबन्ध कार्यालयका कार्यालय प्रमुख अनुप केशर थापाले सो क्षेत्रमा इमरजेन्सी काम भैरहेको भन्दै कामलाइ बलियो बनाउने बताउनुभएको छ ।













प्रतिक्रिया