काठमाडौं, २२ असार । नेपाली सेनाले विनासकारी भूकम्पबाट प्रभावित भूतपूर्व सैनिकलाई लक्षित गर्दै न्यून ब्याजदरमा बासस्थान निर्माणको योजना ल्याउने भएको छ।
भूतपूर्व सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रमअन्तर्गत सोमबार भएको मध्यमाञ्चल स्तरीय भेलामा प्रधानसेनापति गौरवशमशेर राणाले ४ दशमलव ५ प्रतिशत ब्याजदरमा पूर्वसैनिकलाई बासस्थान निर्माण गर्न ऋण दिने तयारी गरेको बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रधानसेनापति राणाले नेपाली सेना संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा खटिएबापत प्राप्त रकमबाट २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट स्थापना भएको सैनिक कल्याणकारी कोषमा २०७२ वैशाख मसान्तसम्ममा ३३ अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको बताए।
कार्यक्रममा सैनिक श्रीमती संघकी अध्यक्ष रोहिणी राणाले संघको पहलमा संकलित १ करोड ४० लाख रुपैयाँको चेक प्रधानसेनापतिलाई हस्तान्तरण गरिन्।
प्रधानसेनापति राणाले नेपाली सेनाद्वारा निर्मित नेपाली र अंग्रेजी भाषाको सारंगी सिम्फोनीनामक अडियो विमोचन गरेका थिए।
ललितपुरको जाउलाखेलमा भएको सम्मेलनमा काठमाडौं, भक्तपुर र ललितपुरबाट भूतपूर्व सैनिक तथा एकल महिला गरी ७ हजार ३ सय ९० जनाको उपस्थिति थियो।















प्रतिक्रिया