काठमाडौं, २१ असार । प्रहरीले धादिङबाट नेपालमा चर्चित कलाकारलाई नियन्त्रणमा लिएको छ ।
नेपालका चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र गायिका कोमल वलीलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको हो । रेडियो कार्यक्रम ‘भन्दै सुन्दै’ रेकर्डका लागि धादिङ पुगेका तीनै जना कलाकारलाई प्रक्रिया अनुसार कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको धादिङका प्रहरी नायव उपरीक्षक डीएसपी प्रकाश मल्लले जानकारी दिए ।
दैनिक नेपालसँग टेलिफोनमा उनले भने -‘अनुमतीविनै हामीलाई जानकारी नदिएर कार्यक्रम आयोजना गरिएको रहेछ, कार्यक्रमको उद्देश्यसँगै सुरक्षा पनि जोडिएको हुन्छ, त्यसकारण प्रशासनको प्रक्रिया अनुसार उहाँहरुलाई प्रहरी कार्यालयमा ल्याएर सम्झाई बुझाई गर्यौ ।’
उनले कलाकार राष्ट्रको गहना भएकाले सुरक्षा पनि महत्वपूर्ण पाटो भएकाले छलफल प्रक्रियागत सम्झाउन मात्रै प्रहरी कार्यालय ल्याइएको बताए । ‘कार्यालयमा बोलाइएको हो । कलाकारलाई ल्याउनुपर्ने होइन् आयोजक ल्याउनुपर्ने हो । तर उहाँहरुले नै आयोजक हौं भनेपछि ल्याउनु परेको हो ।’
जनचेतनामुलक रेडियो कार्यक्रम तयार पार्न उनीहरु नीलकण्ठ उमाविको प्राङगण पुगेका थिए । उक्त स्थानमा चर्चित कलाकारहरु पुगेपछि अत्याधि भीड जम्मा भएको थियो । सो भीडसामु उनीहरुले विभिन्न प्रस्तुतिहरु समेत दिइरहेका थिए । तर, प्रशासनले बिना अनुमति कार्यक्रम गरेको भन्दै चर्चित कलाकारहरुलाई नियन्त्रणमा लिएको हो । प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लगिएको र केहिबेरमा छाडिएको थियो ।















प्रतिक्रिया