काठमाडौं, २६ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल कम्युनिस्ट आन्दोलनकी नेत्री एवम् वरिष्ठ राजनीतिज्ञ सहाना प्रधानको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गर्दै खर्च सरकारले व्यहोर्ने जनाएका छन् ।
प्रधानमन्त्री कोइरालाको विशेष निर्देशनमा सरकारका निमित्त मुख्यसचिव कृष्णहरि बास्कोटा बल्खुस्थित बयोधा अस्पतालमा पुगी उक्त सन्देश व्यक्त गरे । निमित्त मुख्यसचिव बास्कोटाले उनका सुपुत्र उमेश श्रेष्ठलाई भेटी नेत्री प्रधानको उपचार खर्च सरकारले व्यहोर्ने भनी प्रधानमन्त्री कोइरालाले सन्देश पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निमित्त मुख्यसचिव बास्कोटाले प्रधानको उपचारमा संलग्न चिकित्सक डा विनोद कार्कीलाई भेटी उपचारमा कुनै कमजोरी हुन नदिन प्रधानमन्त्री कोइरालाले पठाएको सन्देशसमेत सुनाए ।
डा कार्कीले नेपालमा उपलब्ध सबै प्रविधि र पद्धति प्रयोग गरी उपचार गरिने कुरा निमित्त मुख्यसचिव बास्कोटालाई अवगत गराउँदै प्रधानमन्त्री कोइरालाको सन्देशले आफ्नो समूहलाई उनको उपचार सफल तुल्याउनमा थप हौसला मिलेको बताए ।
बास्कोटाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सर्चि प्रधानमन्त्री कोइरालाको निर्देशनअनुसार उपचारको आवश्यक प्रबन्ध मिलाउन आग्रह गरे ।
बास्कोटाका साथमा अस्पताल पुग्नुभएका मन्त्रालयका सचिव डा प्रवीण मिश्रले प्रधानमन्त्री कोइरालाको निर्देशनअनुसार सबै प्रबन्ध मिलाइने बताए ।
नेत्री प्रधानलाई गत शुक्रबार स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनको मस्तिष्कमा रगत जमेको तथा हाडजोर्नीको समस्या र फोक्सोमा समेत सङ्क्रमण रहेको अस्पतालले जनाएको छ ।













प्रतिक्रिया