९ असार २०८३, मंगलबार

असल पार्टी र नेतृत्व सत्तामा आए के गर्न सक्छ भन्ने एमालेले देखायो : शंकर पोखरेल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १३ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मधेस सरकारमा नेकपा एमाले सामेल भए पछि उपभोक्ता समितिको नाममा बजेट खाने परम्परा अन्त्य भएको बताएका छन् ।

नेकपा एमाले महोत्तरीद्वारा रामगोपालपुरमा आयोजित वृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले मधेसमा एमाले सरकारको एउटा अंश मात्र भएको बताउँदै एमालेले नेतृत्व गर्ने हो भने मधेसका जनताको अपेक्षा अनुसार काम गरेर देखाउने बताएका हुन् ।

विगतमा मधेसमा एमाले आउन खोज्दा एमाले मधेस विरोधी पार्टी हो भन्ने भ्रम फिँजाइएको र केपी ओलीलाई मधेस विरोधी नेताको रूपमा चित्रित गर्ने प्रयास गरिएको उनले स्मरण गराए । तर मधेसको विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले नै हो भन्ने कुराको सच्चाइलाई मधेसका जनताले बुझ्नु पर्नेमा उनले जोड दिए । मधेसको नाममा राजनीति गर्नेले मधेसको विकासको लागि कुनै काम नगरेपछि मधेसको विकासको नेतृत्व नेकपा एमालेले गर्नुपर्छ भन्ने सङ्कल्प एमाले अध्यक्ष केपी ओलीले गरेर मधेसको विकासमा लागेका पोखरेलको भनाइ छ ।

भारत सरकारले लामो समयसम्म काम नगरेर अलपत्र पारेको हुलाकी राजमार्ग केपी ओली प्रधानमन्त्री हुँदा बनाएको उनले बताए । एसियाली विकास बैङ्कसँग सहायता लिएर पूर्वपश्चिम राजमार्गसँग तराइका सदरमुकामलाई जोड्ने र तराई मधेसका सबै सदरमुकाम आधुनिकीकरण गर्ने काम पनि नेकपा एमाले नेतृत्वकै सरकारले गरेको उनको भनाइ छ । ‘एउटा असल पार्टी, एउटा असल नेतृत्व राज्य सत्तामा आयो भने के गर्न सक्दो रहेछ भन्ने कुरा एमालले गरेर देखाएको छ’, उनले भने।

नेपालको पानी तराई मधेसले प्रयोग गर्न पाउनु पर्दछ भनेर सुनकोसी–मरिण डाइभर्सन र बबई डाइभर्सनको काम गर्ने पार्टी पनि नेकपा एमाले नै भएको उनले बताए । ती दुईवटा योजना बनेपछि मधेसमा बाह्रै महिना सिँचाइको सुविधा पुग्ने उनले स्पष्ट पारे ।

आज माओवादीको अस्थिरताको कारण मुलुकको विकासले गति लिन नपाएको बताउँदै उनले माओवादीको कारण देश बरबाद भएको बताए । त्यस अर्थमा एमालेले मिसन २०८४ भनेको उनले स्पष्ट पारे । मधेसले खोजेको काम नेकपा एमालले गर्न सक्ने भएकोले २०८४ को निर्वाचनमा एमालेलाई बहुमत दिन पोखरेलले आग्रह गरे ।