४ कार्तिक २०८३, बुधबार

कक्षा सञ्चालन नभएको महिनाको गाडीभाडादेखि ट्युसन फीसमेत लिए निजी विद्यालयले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-busकाठमाडौं, २० असार । उपत्यकाका अधिकांश निजी विद्यालयले कक्षा सञ्चालन नभएको महिनाको गाडीभाडादेखि ट्युसन फीसमेत लिएका छन् ।

१२ वैशाखको विनाशकारी भूकम्पका कारण डेढ महिनाभन्दा बढी समय विद्यालय बन्द रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

शिक्षा मन्त्रालयले भूकम्पका वेला सञ्चालन नभएकाले समग्र शुल्कमा आधा महिनाको मिनाहा गर्ने निर्णय गरेको थियो । निजी विद्यालय सञ्चालकका छाता संगठनहरू प्याब्सन तथा एनप्याब्सनसँगको सहमतिमा मन्त्रालयले ३१ जेठमा शुल्क मिनाहा गर्ने निर्णय गरेको थियो ।

यसैगरी, खर्च नै नभएका शीर्षकहरू गाडीभाडा, होस्टेललगायतका अन्य शीर्षकका शुल्कसमेत लिन नपाउने मन्त्रालयको निर्णय थियो । तर, अहिले स्कुल नचलेको वेलाको गाडीभाडासमेत जोडेर बिल अभिभावकलाई पठाएका छन् ।

अभिभावकले छोराछोरीलाई विद्यालयले अप्ठ्यारो पार्न सक्ने भन्दै खुलेर विरोध गर्न सकेका छैनन् ।

काठमाडौंको नागार्जुन भ्याली एकेडेमीले वैशाखदेखि असारसम्मको सबै शुल्कको बिल पठाएपछि अभिभावक आक्रोशित भएका छन् । सो विद्यालयमा कक्षा चारमा अध्ययनरत विद्यार्थीका अभिभावक प्रमिला खत्रीले वैशाखदेखि असारसम्मको बिल आएको बताइन् ।

सरकारको निर्णयअनुसार घटाउन आग्रह गर्दा विद्यालय प्रशासनले काठमाडौं भूकम्पबाट अति प्रभावितमा नपर्ने जवाफ दिएको खत्रीको भनाइ छ । विद्यालयमा पुगेका आफूजस्तै अभिभावकलाई प्रशासनले कुनै छुट दिन नसकिने जवाफ दिएर फर्काउने गरेको उनले बताइन् ।

सो विद्यालयका प्रिन्सिपल भरत न्यौपानेले हाकाहाकी सरकारको निर्णय कार्यान्वयन नगर्ने बताए । घरजग्गा भाडामा लिएर विद्यालय सञ्चालन गरिएको र घरबेटीले आफूलाई छुट नदिएकाले विद्यार्थीसँग सबै शुल्क लिने उनको भनाइ छ ।

‘काठमाडौं भूकम्पको अति प्रभावित जिल्लामा पर्दैन, कोही भूकम्पपीडित भएमा प्रमाणित गरेर ल्याउनुस् छुट दिन्छौँ भनेका छौँ,’ प्रिन्सिपल न्यौपानेले भने, ‘घरबेटीले छुट दिन नमानेपछि हामी अभिभावकबाट नलिई चल्न सक्दैनौँ ।’

राजधानीका अधिकांश विद्यालयले सरकारसँग भएको सहमतिअनुसार शुल्क घटाएका छैनन् । लाजिम्पाटको मेरिडियन इन्टरनेसनल, रुपिज इन्टरनेसनल, मिल्स बेरी इन्टरनेसनल स्कुलले पनि विद्यार्थीसँग सबै शुल्क असुलेका छन् ।

विद्यार्थी संगठनहरूको अनुगमन टोलीले मेरिडियन स्कुलले बन्द भएको समयको गाडीभाडासमेत प्रतिविद्यार्थी दुई हजार ६ सय रुपैयाँ असुलेको बताएका छन् ।

सञ्चालन नभएको समयको पनि सबै शुल्क लिएपछि मेरिडियन, रुपिज र मिल्स बेरी स्कुलमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।