१० श्रावण २०८३, आइतबार

पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा परी ६ सैनिकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद, २३ मंसिर । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी छ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले शनिबार जनाएको छ ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको एक सैन्य शिविरमा ती सैनिकले बन्दुकधारीसँग ‘व्यापकरूपमा सशस्त्र झडप’ गरेको सेनाले जनाएको छ । ती सैनिकले तीन जना बन्दुकधारीको हत्या गरेको बताइएको छ ।

जिहादी र पृथकतावादी समूहहरूले अफगानिस्तानसँग जोडिएको पहाडी सीमामा सेना र प्रहरीलाई निशाना बनाउने गरेका छन् ।

गत नोभेम्बरमा सो प्रान्तमा २४ घण्टाभन्दा कम समयमा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा २० सैनिकको मृत्यु भएको थियो ।

पाकिस्तानी तालिवानको नामले पनि चिनिने तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी)ले आठ सैनिक र नौ लडाकूको ज्यान जाने गरी भएको एउटा आक्रमणको जिम्मेवारी लिएको छ ।

आक्रमणको केही घण्टापछि हाफिज गुलबहादुर सशस्त्र समूहले खैबर पख्तुनख्वा प्रान्तको एक चेकप्वाइन्टमा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो ।

टिटिपीले अक्टोबरको अन्त्यमा खैबर पख्तुनख्वाको एक चेक पोस्टमा भएको आक्रमणमा १० जना प्रहरी अधिकारीको मृत्यु भएको दाबी गरेको छ ।

टिटिपी हाफिज गुलबहादुर समूहबाट अलग छ, तर दुवै सन् २००१ देखि अमेरिकी नेतृत्वको नेटो गठबन्धनविरुद्ध अफगान तालिबानलाई सहयोग गर्न सक्रिय थिए । एएफपी