लम्की, १९ असार । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकाबाट उद्धार गरिएका कैलालीका छजना किशोरीलाई आज परिवारको जिम्मा लगाइएको छ ।
कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका हुँदै भारतको उत्तराखण्डस्थित गुरुद्वारा लैजान लागेका कैलालीका छजना किशोरीलालाई प्रहरीले आज बिहान उद्धार गरेको थियो ।
कैलालीको रामशिखरझाला-८ का १६ देखि १९ वर्ष उमेरका छजना किशोरीको कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-७ का पार्वती नेपालीको घरबाट उद्धार गरिएको हो । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँले आर्थिक अवस्था कमजोरीका कारण परिवारको सहमतिमा कामका लागि भारत पठाइएको अनुसन्धानमा खुल्न आएको बताउनुभयो । उहाँका अनुसार भारतको उत्तराखण्डस्थित गुरुद्वारामा काम गर्न भनी कैलालीकै मसुरिया गाविस-१ का डबल नेपाली र १९ वर्षीय गोमा नेपालीसँग ती युवती भारत जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
उद्धार गरिएका छजानमध्ये तीनजना दोस्रोपटक र तीनजना पहिलोपटक भारत जान लागेको प्रहरीले जनाएको छ । किशोरीहरू मानव बेचविखनको जोखिममा पर्न सक्ने भन्दै प्रहरीले उद्धार गरेको प्रहरी प्रवक्ता काफ्लेले बताउनुभयो । रासस















प्रतिक्रिया