
काठमाडौं, १६ मंसिर । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १४औं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ ।
आ.व. २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराईज क्यापिटल एक आपसमा गाभिई २०८० पुस २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।
वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८१/०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय गरिएको छ । साथै, मर्जर पश्चात आ.व. २०८०/०८१ को एकीकृत वासलात बमोजिम प्रति शेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् ७ करोड ७१ लाख ९४ हजार ७३६.८० रुपैयाँ (१५ प्रतिशत कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ ।
तीन दशक भन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सक्रियताका साथ संलग्न रहेको यस कम्पनीले हालसम्म सबैभन्दा बढी संस्थाहरुको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ । हाल २० वटा कम्पनीहरुको शेयर निष्काशनको क्रममा रहेको छ । कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आइरहेकोे छ र कम्पनीले करिब ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ ।
कम्पनीले करिब ७ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेकोमा मिति २०८१/०२/२८ मा १ अर्ब २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात त्यसका ईकाइधनीहरुलाई ११.१४ रुपैयाँ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको छ । बाँकी ५ वटा योजनाले आ.व. २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ ।
विशिष्टीकृत लगानी कोष सेवाअन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृती प्राप्त गरी फण्डले लगानीकर्ताहरुबाट करिब ४० करोड रुपैयाँ संकलन गरिसकेको छ र बाँकी रकम चालु आर्थिक वर्षमा संकलन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।








प्रतिक्रिया